कला / मनोरञ्जन

आशा रहेछ जिन्दगी…..

By canadakhabar

December 13, 2020

हुनत हरेक मानिसले कुनैपनि वस्तुलाई तुलना गर्ने र हेर्ने अनी ब्याख्या गर्ने शैली फरक हुन्छ । क्षमता र उसको क्रियाकलाप र भोगाईले पनि हेर्ने र विश्लेषण गर्ने ढङ्ग र क्षमता फरक हुन सक्छ । जिन्दगीलाई साहित्यकार, कलाकार र हरेक क्षेत्रका पेशा व्यवसायीहरुले अलग अलग रुपमा ब्याख्या गरेको पाइन्छ । हामीले मन पराएर सुन्ने हरेक गीतहरुमा जिन्दगीको ब्याख्या पनि फरक फरक ढङ्गबाट भएको पाइन्छ । कसैले जिन्दगीलाई उझाड मरुभुमी भनेर भन्ने गरेका छौँ त कसैले जिन्दगीलाई अमुल्य ठानेका छौँ । त्यहि जिन्दगीलाई कसैले यात्रा भनेका छन् त कसैले निराशाको संज्ञा दिएका छन् । जिन्दगीले सहि मोड लियो या त सुखको जित भयो भने मानिसले त्यसैलाई सकारात्मक कुराबाट परिभाषा गरेका छन् त दुःखको जित भयो भने त्यसैलाई नकारात्मक कुराको संज्ञा दिने गरेका छन् । फेरी कुरा उठ्न सक्छ दुःख के हो ? अनी सुख के हो ? के लाई दुःख र के लाई सुख भन्ने ? मापन गर्ने मानिसको मनै रहेछ । धेरैले मन अनुसार जिवन यापनको अनुभव र भोगाई परिभाषा गरेका हुन्छन् । तर जस्तोसुकै उमेरको मानिस होस या त सोचाई फरक होस उसमा हरेक क्षण आशा भने जिवित नै रहेको हुन्छ । या त बालबच्चा होस या युवा तन्नेरी वा चैँ बृद्धबृद्धा हरेकमा पछिको दिन सुख नै हुन्छ भन्ने आशाको दिप मनमा जलीरहेको हुन्छ । हामी सानो छँदा हाम्रो सोच के थियो र आज के छ ? अनी त्यतीवेला हामीले लिने आशा र यतीवेला गरिने आशा कति फरक छ । उ वेला कसैले एउटा चक्लेट दियो भने दुईवटा पाउन पाए खुसी भइन्थ्यो । उफ्रीन र दगुर्नमा अरुलाई पछि पार्ने आशा हुन्थ्यो । अली पछि गाडी किन्ने र आफैँ ड्राइभर वन्ने सपना थियो । कक्षामा पढ्दा शिक्षकले सोद्धा डाक्टर वन्ने र पाइलट वन्ने यस्ता थिए त्यतिवेलाका इच्छा, ति सपनाहरु थिए र एक किसिमका आशा र सोचाइ पनि । तिनै आशा र सपनाहरुले हामीलाई आज कहाँ पु¥यायो । कति सम्म निर्धारण गर्न सकियो ती आशाहरुलाई त कति खेर फालियो पनि । केही भएर पनि नभए जस्तो या भएर पनि नभएजस्तो यो जिन्दगी माया, ममता, प्रेम, प्यार, मा सोच्ने हो भने यो करुणैकरुणा भरिएको हुन्छ । या त चिन्ता, बोझ, दुख, कष्ट, आँसु, पीडा, छटपट र चोट, जलन, बियोग, हण्डर, ठक्कर, तथा बेदनामा सोच्ने हो भने दुःखको भवसागर भइदिन्छ यहि जिन्दगी । संयोग, भाग्य, सौभाग्य, दान, बरदान, इज्जत, गौरब, राज, रजाइ, हाइहाइमा जिन्दगीलाई सोच्ने हो भने आशा हो जिन्दगी । सर्वकारी, सर्बहारी, ब्रह्मचारी, कर्मचारी, सदाचारी, व्यभिचारी, शिकारी भएर पनि त जिन्दगीको सोच लिने हो भने आफ्नै टुङ्गो लाग्न सक्छ । जस्तो मन गरे पनि जिन्दगी भित्र चोट र पिडा लुकेको हुन्छ । त्यहिँभित्र हाँसो र सुख पनि अटाएको हुन्छ । हामी आफँै पनि सुख र खुसीकामुडमा भन्ने गछौँ जिन्दगी दुईदिनको घामछाँया हो । कुनैबेला जिन्दगी माया नै माया हो । कसैले भन्छन जिन्दगी भूल हो कसैले भन्दछन फूल हो । कसैले भन्छन जिन्दगी धोकै धोका हो । कसैले भन्छन पानीको फोका हो । कतिखेर फुट्ने हो टुङ्गो हुँदैन । मादक पदार्थ सेवन गर्ने मतवालाले भन्छ जिन्दगी भरेको बोतल जस्तै छ । पिउदाँ पिउदैँ कतिखेर रित्तिन्छ थाहा हुँदैन । कविहरुले भन्ने गर्छन जिन्दगी एउटा कविता नै हो । एकछिन भाका हालेर रसस्वादन गर्दा गर्दै टुगिंहाल्छ । कथाकारले भन्छन् जिन्दगी एउटा कथा मात्र हो । एक दुई घण्टाको बसाइ मै पढिसकिन्छ । फेरि नाटककारले भन्छन जिन्दगी नाटक जस्तो छ । खुसी र सुखको क्षणमा जिन्दगी छोटो र अस्थिर जस्तै लाग्छ । अनी दःुख र छटपटाइमा लामो र झन्झटिलो भइदिन्छ यहि जिन्दगी । मानिसका यी सबै तर्क बितर्क र परिभाषाहरुलाई ठम्याउँदा ठिकै देखिन्छ । तर जिन्दगीलाई खोतल्दै जाने हो भने भने जिन्दगी भित्र अझ अर्को पनि जिन्दगी लुकेको हुन्छ । यो हामी कतिले भोगीरहेका छौँ र महसुस पनि गरिरहेका छौँ । थरीथरीका तर्क बितर्क, बाद बिवाद अनी भाषा परिभाषाले गर्दा त झन यसको मेसो पाउन नसकेर कति हामी धिक्कार ठान्छौँ यहि जिन्दगीलाई र आफैँभित्र रिस पालिरहेका हुन्छौँ । अनी कतिवेला आफ्नो देह आफैँ त्याग गछौँ आफैँलाई थाहा हुँदैन । यहि जिन्दगीमा सहज या त असहज परिस्थिति, बाध्यता, बिवशता, दुःख, कष्ट र अनेक झन्झटभित्र रुमलिँदै अनेकौ झमेला भित्र अनेकौँ बाटाहरुमा ठोक्कीएर दिमाख घुमेर आफैँमा चक्कर लगाएपछि मात्र जिन्दगीलाई बुझ्दै जाने विवेकरुपी ज्वालाका बिर्काहरु खुल्दै जान्छन भन्ने धेरै मानिसहरुको धारणा छ । अनी कहिले काहिँ आफैँ भन्ने गर्छौँ संसारमा ठोक्किएर मात्र सुध्रने चिज केवल जिन्दगी हो । सिसाको वोतल, कुद्दै गरेको गाडी, उड्दै गरेको जहाज ठोक्कियो भने फुट्छ त्यसले काम दिँदैन । तर मानिसको जिन्दगी ठोक्कियो भने होस खुल्छ भनेर । संसारमा हरेक चिज नाप्ने यन्त्र दैनिकरुपमा आविस्कार भइरहेका छन् तर मानिसको मन र उसको जिन्दगीको लम्वाइ, चौडाइ, उचाइ र गहिराईको योगफल या आयतन नाप्ने यन्त्र भने आविस्कार नभएर पनि होला के हो जिन्दगी ? जिन्दगीलाई जोड, घटाउ, गुणा र भाग गर्ने मानिसै पिच्छेका सुत्रहरु फरक फरक हुन्छन् । जिन्दगीलाई हेर्ने आँखा र बुझने मन फरक फरक भएकै कारण यसलाई हेर्ने र बुझने तरिका पनि फरक भएको हुन सक्छ । त्यहि भएर धेरैले जिन्दगी नाप्ने अन्तिम उपाय धर्म भन्ने गरेका छन् । अध्यात्मिक वा धार्मिक भएर सोच्ने हो भने कुनै ढुङ्गालाई पुजा गरेर या त ढुङ्गालाई देवता मानेर जिन्दगीको बाँकी पल सुखमय होस् भन्नुको विकल्प नरहला । किनभने वैज्ञानिक हिसावले मानिसको मन जाँच्ने यन्त्र नभएरै मानिसले बनाएका सुत्र चाहीँ कहि न कहि फेल खाइरहेका हुन्छन् । यदि वैज्ञानिक तवरले मानिसको मन नाप्ने यन्त्र थियो भने जिन्दगी नापिन्थ्यो र के हो जिन्दगी सायद सहि परिभाषा गरिन्थ्यो होला । रिती तिथी संस्कार र संस्कृती मानिसका आ–आफ्नै हुन्छन् । अनी हामीले मनाउने चाडवार्ड पनि फरक हुन्छन् । हामी रुमल्लिरहेका हुन्छौँ सुख र आरामको जिन्दगीको आशामा । कोहि हामी रमाइलो गर्ने अवसरको खोजीमा हुन्छौँ त हामी भित्रै कोहि रमाइलोमा खर्च हुने आर्थीकको साधनको खोजीमा । चाडपर्वहरु सायदै त्यसकै लागि होलान् अनी नयाँवर्ष पनि । यिनै आशाको पछि लाग्दा लाग्दै हाम्रो जिन्दगी छोट्टिरहेको हुन्छ । हामी कसैले महसुस गरेका छौँ त कतिले सोच्नै भ्याएका छैनौ पनि । विगतका सालमा मनाएको पनि नयाँ वर्ष गत बिचमा मनाएको जनवरी पहिलो पनि नव वर्ष । यस्ता नव वर्ष पनि उमेर ढल्किएसँगै वढ्दै जान्छ र गइरहेको छ । ती सँगै हाम्रो जिन्दगी र आशा पनि फेरीरहेका हुन्छन् । समाप्त हुँदैन मानिसको जिन्दगी र हाम्रा अनगिन्ती आशा ।