कला / मनोरञ्जन

क्यालगरीको एडवर्धी पार्क नेपाली गीतसंगीतमय

By canadakhabar

August 08, 2022

अगस्ट ७, क्यानाडाखवर.कम क्यालगरी

“लजाउँछु एक्लै हेरेर ऐना, झम झम झमकना लाउँकी नलाउँ भो” शनिवार क्यालगरीको साउथवेस्ट स्थित एडवर्धी पार्क नेपाली गीतसंगीतमय बनेको थियो ।

तीज गीतमा छमछमी नाचिरहेकी काठमाडौ सीतापाइला निवासी सुमित्रा घिमिरेले पसिना पुछ्दै भनिन “ घर सुत्केरी छोरी छोडेर आएकी छु । तर पनि एकदमै खुशी लागेको छ । यति धेरै नेपालीहरु एकै ठाउँमा देख्दा, सवै मिलेर नाचगान गरेको देख्दा खुशीको सिमा नै छैन”

उनले क्यालगरीको बसाई एकदमै रमाइलो भएको बताइन । उनी भन्छिन “म अमेरिका आएकी थिए । मेरो श्रीमान अझै छोरासंग अमेरिका हुनुहुन्छ । मलाई त उता भन्दा क्यालगरी रमाइलो लाग्यो । नेपालीहरु कस्तो एकजुट भएको” उनले थपिन “ अलि अलि कविता पनि लेख्छु, सुनाउन अलि डर लागे जस्तो भयो । तर पनि सुनाएँ, खुशी लाग्यो ।

सुमित्रालाई मात्र होइन । छ महिना अघि क्यालगरी युर्निभर्सिटिमा मास्टर्स इन सिभिल इन्जिनियरिङ्ग पढ्न आएकी अनिता पण्डितलाई नेपाली दाजुभाई दिदिवहिनीहरु भेट्न पाउँदा निकै खुशी लागेको छ ।

उनी भन्छिन “ चार महिना युर्निभर्सिटी मा विदा छ । विदाको बेलामा एनसिएससीको इभन्टहरुमा भोलेन्टियर गरिरहेकी छु । खुशी लाग्छ, यसरी धेरै नेपालीहरु एकै ठाउँमा देख्न पाउँदा”

नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीद्धारा आयोजित समर पिकनिक २०२२’ स्थानीय कलाकारको प्रस्तुतिले उपश्थित सहभागीहरु प्रफुल्ल देखिन्थे ।

क्यालगरीबासी नेपालीहरु विच आपसी भेटघाट तथा मनोरञ्जन गराउने उद्देश्यले एनसिएसीले बार्षिक समर पिकनिकको आयोजना गर्ने गरेको छ ।हरेक बर्ष झै यो बर्ष पनि समर पिकनिकमा विभिन्न मनोरञ्जनात्मक खेल, तथा नाचगानको व्यवस्था गरिएको एनसिएससी समर पिकनिकका संयोजक द्धय नविन हमाल र युवराज गुरुङ्गले बताए ।