The Photo Professor

मुख्य खबर

प्रान्तिय मन्त्री रेमन्ड सुङ जुन चो को सहभागीतामा सृजनशील नेपाली समाज क्यानाडाको तीज कार्यक्रम सम्पन्न

By canadakhabar

September 03, 2024

मदन बस्नेत – टोरोन्टो ।

सृजनशील नेपाली समाज क्यानाडा  (SNS Canada) ले आयोजना गरेको तीज : नाच-गान तथा दर कार्यक्रम ओन्टारियो प्रान्तका मन्त्री (सिनियर एण्ड एसिसिबिलिटी अफ अन्टारियो) माननीय श्री रेमन्ड सुङ जुन चो को प्रमुख आतिथ्यमा भब्यताकासाथ सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी अतिथि बिचेज ईस्ट योर्क कि एमपिपि मेरी मार्गरेट म्याकमोहन, स्कारब्रो साउथ वेस्ट काउन्सिलर पार्थी काण्डवेल, एमपिपि मेरी मार्गरेट म्याकमोहन कि अफिस म्यानेजर मेरिएटा फक्स, सांसद शान चेनको प्रतिनिधि जुडी येउङ लगायतका अतिथिहरु  क्यानाडामा हुर्कदै गरेका नेपाली नयाँ पुस्ताको प्रस्तुति देखेर अचम्मित भएका थिए।

अतिथिहरुलाई संस्थाका तर्फबाट स्वागत स्वरुप प्रदान गरिएको नेपाली ढाका टोपी र खादालाई उनीहरुले कार्यक्रमको अन्तिमसम्म पहिरिएका थिए।

गत शनिबार सम्पन्न संस्थाको तीज कार्यक्रममा सदा झैं यसपटक पनि स्थानीय क्यानेडियन नेपाली समुदायले उत्साहपूर्वक सहभागिता जनायो र झन्डै आठ दर्जनको हाराहारीमा नयाँ पुस्ताका नेपाली केटाकेटीले आफ्नो प्रतिभा प्रस्तुत गरे।

कार्यक्रमको निर्धारित तिथिमिती भन्दा अगावै सबै टिकट बुकिङ भईसकेको हुनाले कार्यक्रममा अग्रिम बुकिङ नगरी कार्यक्रममा सहभागी हुन आउने सहभागीहरुलाई ब्यबस्थापन गर्न संस्थालाई हम्मेहम्मे परेको थियो।

सृजनशील समाजको कार्यक्रमको प्रमुख आकर्षण भनेकै नयाँ पुस्ताका नेपालीहरुको कार्यक्रममा उत्साहपूर्वक उपस्थिति र प्रतिभाको प्रदर्शन हो। सदा झैँ यसपटक पनि विभिन्न उमेर समुहका बालबालिका र महिलाहरूको तीज टिम समेत गरेर करिब १०० प्रतिभाशाली व्यक्तिहरूद्वारा मनमोहक सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरेर क्यानाडामा नयाँ पुस्ताका नेपाली केटाकेटीहरु कसरी नेपाली कला, संस्कृति, परम्परा, नृत्य र गीत, संगीतको संरक्षण र सम्बर्द्धनमा जुटेका छ्न् भन्ने सबै सामु प्रष्ट रुपमा प्रदर्शन गरेका थिए। 

नृत तर्फ ४-८ उमेर समुहका ३५ जना, ९-१२ उमेर समुहका ३० जना र १२-१८ उमेर समुहका १० जना केटाकेटीले आफ्नो प्रतिभा प्रदर्सन गरेका थिए भने २० जनाको महिला समुह तीजको गीतमा  आकर्षक नृत्य देखाएका थिए। 

त्यसैगरी विभिन्न उमेरका २० जना बालबालिकाको अर्को एउटा समुहले पियानो बजाएर सबैलाई मन्त्रमुघ्ध बनाएका थिए।

संस्था अध्यक्ष देवेन्द्र कार्कीका अनुसार कार्यक्रमलाई मध्यनजर गरेर संस्थाले बिगत २-३ महिनादेखि बालबालिकालाई संस्था मार्फत गीत, संगीत र नृत्य प्रशिक्षण गर्दै आएको थियो। र आगामी दिनहरुमा पनि यस्ता तालिमहरुले नीरन्तरता पाउने बताए ।

अगस्ट ३१ शनिबार 100 Salome Dr, Scarborough, ON M1S 2A8 मा साँझ ६ बजेबाट सुरु भएको तीज कार्यक्रममा विशेष रात्रिभोजको साथ सुरु भएको थियो। कार्यक्रममा प्रतिभा प्रदर्सन गर्ने र नृत्य तथा संगीत सिक्ने सबै सहभागी केटाकेटीहरुलाई संस्थाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रमको संचालन स्विकृति घिमिरेले गरेकी थिईन ।

अगस्त २०१५ मा स्थापित, सृजनशील नेपाली समाज (SNS) टोरन्टो/स्कारबोरो क्षेत्रका नेपाली क्यानेडियन परिवारहरू बीच आपसी सम्मान र सहयोगलाई बढावा दिँदै नेपाली कला, संस्कृति, मूल्यमान्यता र सामाजिक रीतिरिवाजलाई क्यानाडामा नयाँ पुस्ता माझ  पुस्तान्तरण गर्न प्रयासरत छ।

त्यसको अलावा संस्थाले आफ्ना बालबालिका, युवा पुस्ता र समुदायका तमात सदस्यहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र हाम्रो सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने सांस्कृतिक कार्यक्रमहरूमा संलग्न हुन प्लेटफर्म पनि प्रदान गर्दै आईरहेको छ। 

संस्था आफ्नो उदेश्य र लक्ष्य अनुसार नीरन्तर अगाडि बढिरहेको र त्यस महान कार्यमा हरतरहले साथ, सहयोग र समर्थन प्रदान गर्ने नेपाली समुदाय र बिशेषगरि संस्थाको नृत्य र संगीतको तालिममा सहभागी हुने  नयाँ पुस्ता केटाकेटी र उनीहरूका अभिभावक प्रती संस्थाका संस्थापक अध्यक्ष शिशिर पाण्डेले हार्दिक आभार ब्यक्त गरेका छन् ।।

photo source : The Photo Professor