CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • क्यानडा लैदिने भन्दै ब्यापक ठगी

    नुवाकोटकी मन्जु लामा (नाम परिवर्तन) मुम्बईमा अलपत्र श्रीमान्को उद्धारका लागि आइतबार महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालसमक्ष अनुरोध गर्दै थिइन् । ‘दलालले २५ लाख रुपैयाँ लियो, क्यानडा पनि पुर्‍याएन, मुम्बई पुर्‍याएर अलपत्र पारेको छ,’ उनले भनिन्, ‘त्यही दलालले अरूलाई पनि पठाउँछौं भन्दै छ, कतिलाई ठग्ने भयो सर ।’ मन्जुका अनुसार उनका श्रीमानलाई ४ महिनादेखि मुम्बईमा अलपत्र पारिएको छ ।

    श्रीमानलाई क्यानडा पठाउन बाफलमा रहेको एकतले घर बिक्री गरेको उनले बताइन् । ‘दलालको चंगुलमा परेर घर पनि बेचें, श्रीमान पनि अलपत्र छन्,’ उनले भनिन् । मन्जुका श्रीमान सन्दीपसहित २५ जना मुम्बईमा अलपत्र परेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । दलाललाई कानुनी दायरामा ल्याउन पहल भइरहेको उनले बताए ।
    canadakhabar reportएक महिनायता दलालबाट ठगिएका उजुरी प्रत्येक दिन १० भन्दा बढी आउन थालेको उनले बताए । एसएसपी खनालका अनुसार ठगी आरोपमा १७ म्यानपावरमा छापा मारेपछि दलालबाट ठगिएका व्यक्तिबाट उजुरीको ओइरो लाग्न थालेको छ । म्यानपावर र विभिन्न कन्सल्टेन्सीले करिब १ अर्ब रुपैयाँ ठगेको उजुरी रहेको उनले बताए ।
    महाशाखाका अनुसार अमेरिका पठाइदिन्छु भनेर ठगी गरेका ५, रसियाका ३, खाडी मुलुकका १३, युरोपियन मुलुकका ५, जापानका ४, अस्ट्रेलिया १, क्यानडा ३, थाइल्यान्ड १, सिंगापुर १, मालदिभ्स १ र दक्षिण अफ्रिका पठाइदिने भनेर ठगेका एक उजुरी परेका छन् । ‘मानव तस्कर र दलालको जालो देख्दा अचम्म लाग्छ,’ एसएसपी खनालले भने, ‘कति त फोनमै रोएर कुरा गर्छन् ।’ अधिकांश म्यानपावर र शैक्षिक कन्सल्टेन्सीले गैरकानुनी रूपमा विदेश पठाएर धन कमाउने गरेको उनले बताए ।
    केही शैक्षिक कन्सल्टेन्सीले साइप्रस, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता मुलुक पठाइदिने प्रलोभन देखाई ठूलो रकम लिएको उजुरी आएको उनले बताए । ‘गैरकानुनी राहदानी, विभिन्न कार्यालयको नक्कली छापसमेत बनाएर कन्सल्टेन्सीले विद्यार्थी विदेश पठाउँछन्,’ उनले भने, ‘कसैको त दर्ता पनि छैन ।’ त्यस्ता ४३ कन्सल्टेन्सीलाई कारबाही गरिसकेको उनले बताए ।
    मानिस घरखेत बेचेर वैदेशिक रोजगारीका लागि जाने गरेको र विदेश पुगिसकेपछि नेपालमा भनेकोभन्दा अर्कै काममा लगाइने गरेको पाइएको एसएसपी खनालले बताए । वैदेशिक रोजगारीविरुद्ध १ सय १० भन्दा बढी उजुरी आएको उनले बताए । ३८ विरुद्ध मुद्दा चलाइसकेको छ । महाशाखाका अनुसार १८ जनालाई म्यानपावर अथवा दलालसँग मिलापत्र गरी पठाइएको र केहीविरुद्ध अझै अनुसन्धान जारी छ ।
    ‘५३ म्यानपावर तथा शैक्षिक परामर्श केन्द्रविरुद्ध अनुसन्धान गर्दै छौं,’ उनले भने, ‘मानव तस्करको जालो जसरी पनि तोड्छौं ।’ महाशाखाका प्रवक्ता सहकुल थापाले खाडीबाट ठगिएको फोन प्रत्येक दिन ३ वटा आउने गरेको बताए । ‘कहिलेकाहीं त निकै तनाव हुन्छ,’ उनले भने । म्यानपावर र दलालविरुद्ध झन्डै ५६ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गराएको उनले बताए ।