CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • अमेरिकामा भएको खुला तेक्वान्दोमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

    विजय थापा

    डिसी । अमेरिकाको वासिङ्टन डिसी महानगरमा सम्पन्न राष्ट्रिय खुला तेक्वान्दोमा नेपाली खेलाडी तथा निर्णायकले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

    प्रतियोगितामा बाल्टिमोर स्थित एभरेस्ट वर्ल्ड क्लास एकेडेमीबाट नेपाली र अमेरिकी मुलका २१ जना खेलाडीले २९ विधामा प्रतिस्पर्धा गरेको एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक कुमार कार्कीले बताए ।
    Taekwando1
    एभरेष्टका सबै खेलाडीले पदक जित्न सफल भए । उनीहरुले २९ स्वर्ण, ७ रजत र ४ कास्य गरी कुल ४० वटा पदक प्राप्त गर्न सफल भएका छन् । एभरेस्ट वर्ल्ड क्लासका २१ जना खेलाडी मध्ये ९ जना नेपाली थिए । नेपाली खेलाडीहरुमा नेपाली राष्ट्रिय खेलाडी मनिता शाहीले स्पाइरिङमा स्वर्ण र पुम्सेमा रजत, कृष्ण कार्कीले स्पारिङ र पुम्से दुवैमा स्वर्ण जिते ।

    गरि उज्जवल ठकुरीले स्पाइरिङमा स्वर्ण तथा एलेन शाहीले स्पाइरिङ र पुम्से दुवैमा स्वर्ण जिते । त्यस्तै सलिना खड्काले पनि स्पाइरिङ र पुम्सेमा स्वर्ण जिते भने हेमन छन्त्यालले पुम्सेमा स्वर्ण र स्पाइरिङमा रजत जिते ।

    यसैगरि प्रनिमा आचार्यले स्पारिङमा स्वर्ण र पुम्सेमा काश्य, विवेक क्षत्रीले पुम्सेमा स्वर्ण र स्पारिङमा रजत जिते । नेपाली खेलाडी हेगन छन्त्यालले स्पाइरिङमा स्वर्ण र पुम्सेमा काश्य जिते ।

    ब्ल्याक बेल्टको लागि १४ बर्षमुनि समूहमा ग्रान्ड च्याम्पियन कृषा कार्की र वरिष्ट ब्ल्याक बेल्ट समूहमा १८ बर्ष माथि मनिता शाहीले ग्रान्ड पदक जितेकी छन् ।

    प्रतियोगितामा एवेरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी बाल्टिमोरले २९ स्वर्णसहित प्रथम स्थान हासिल गरेको छ । २९स्वर्ण, ७ रजत, ४ काश्य तथा जुनियर ब्ल्याक बेल्ट र सिनियर ब्ल्याक बेल्टमा दुई गरी ४२ पदकसहित एभरेष्ट समूह च्याम्पियन समेत बनेको छ ।

    प्रतियोगितामा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट राष्ट्रको नाम राखी सकेका र हाल अमेरिकाका बिभिन्न राज्यहरुमा प्रशिक्षक तथा निर्णायक भै काम गरिरहेका एक दर्जन पूर्व खेलाडीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    मास्टर एच के ली एकडेमी अफ तेक्वान्दोले आयोजना गरेको यो प्रतियोगिता पूर्वी अमेरिकाको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

    प्रतियोगितामा नेपालीमुलका निर्णायकहरुमा कुमारबहादुर कार्की, कल्पना कार्की, दिनेश श्रेष्ठ, कृष्ण मुरारी, कृष्णबहादुर बलाल, मनिता शाही, राजु तिमिल्सिना, प्रकाश थापा, ओमकार बुढामगर, सुरजन घर्तिमगर, निमा धमला तथा राम चन्द्र केसी थिए ।