CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • शसांक कोइराला अमेरिकामा

    अमित अधिकारी ,

    टेक्सास

    नेपाली काग्रेंसका महामन्त्री डाक्टर शशांक कोइरालाले जनताले चाहे राजतन्त्र फर्किन सक्ने बताउनुभएको छ ।
    नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति टेक्सासले आयोजना गरेको कार्यक्रममा बोल्दै नवनिर्वाचित महामन्त्री कोइरालाले जनताले नै फालेको राजतन्त्र जनताले चाहे फर्कन सक्ने विचार राख्नुभएको थियो । हिन्दु राज्य घोषणा सम्बन्धमा सोधिएको जिज्ञासा महामन्त्री कोइरालाले पार्टीको धारण फरक भएपनि व्यक्तिगत रुपमा नेपाल हिन्दु राज्य भएको हेर्न चाहने बताउनुभयो ।

    कांग्रेसले थूप्रै पटक सरकारको नेतृत्व गर्ने अवसर पाएपनि नेताहरु भ्रष्ट भएको कारणले पार्टीको अस्तित्व संकटमा नै पर्दै गएको जिकिर गर्नुभयो । पैसा विना निर्वाचन जित्न नसक्ने अवस्थामा पार्टीका नेताहरु पुगेको र कांग्रेस पार्टी पनि एकीकृत माओवादी र एमालेजस्तै कम्पनिमा रुपान्तरण हुन लागेको चिन्ता व्यक्त गर्नुभयो । आफूले ५० लाख मासिक आम्दानी गर्न सक्ने भएपनि विचार र समर्पणका कारण राजनीतिमा लागेको र विपिको समाजवादलाई सदैव अनुशरण गर्ने प्रतिवद्धता समेत डाक्टर कोइरालाले व्यक्त गर्नुभयो । महामन्त्री पदमा पुगेपनि पार्टी सभापति बन्ने वा अन्य पदग्रहण गर्ने आफ्नो कुनै मनसाय नरहेको कोइरालाले स्पष्ट पार्नुभयो ।

    कोइरालाले कांग्रेसको भातृसंगठनको विधान र कतिपय भातृ संगठनको त औचित्य नै नरहेको जिकिर गर्दै समस्या समधानका निम्ति महासमिति बैठक डाक्नुपर्ने बताउनुभयो । नेपालको भौगोलिक र सामाजिक अवस्थाका कारण नेपालमा संघियताको कुनै औचित्य नरहेको पनि कोइरालाको कथन थियो । राज्यले जात र लिंगको आधारमा नभइ आवश्यकताका आधारमा आरक्षणको व्यवस्था गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो ।