एजेन्सी । अमेरिकी गुप्तचर संस्था सीआईएले चरमपन्थी संगठन अलकायदाका नेता ओसामा बिन लादेनको मृत्युको लाईभ ट्वीट गरेकोमा तिव्र आलोचना भएको छ ।
ओसामा बिन लादेनको दुई मे २०११ मा पाकिस्तानको एबटावादमा अमेरिकी सेनाको कारबाहीमा मृत्यु भएको थियो । उनको मृत्युको सोमबार ५ वर्ष पूरा भएको छ ।
सीआईएले सोही घटनाका बारेमा एक ट्वीट गर्दै पाँच वर्षअघि मोस्ट वान्टेडको सूचीमा रहेका लादेनलाई समात्नका लागि बनाइएको मिसन र गुप्तचरीबारे जानकारी सार्वजनिक गरेको थियो ।
सीआईएको यस ट्वीटको विषयलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ । एक ट्वीटर प्रयोगकर्ताले यसलाई अनौठो र शर्मनाक भनेका छन् । यस्तै जेफ कोनिनले लादेनको पाँचौ वार्षिकी बनाउने नाममा भएको यस कामलाई बकवासको संज्ञा दिएका छन् ।
सीआईएको उक्त ट्वीटमा अमेरिकी सेनाले गरेको कारबाहीमा लाईभ ट्वीट गर्ने योजनाका बारेमा बताइएको छ ।
सीआईएको ट्वीटमा भनिएको छ, ‘ओसामा बिन लादेनको मृत्युको पाँचौ वार्षिकीमा एबोटावादमा भएको कारबारहीको यसरी नै ट्वीट गर्ने थिए, यो सबै घटना आजको भएको भए ।’
कतिपयले भने यसको समर्थन गरेका छन् । मेरी फ्रेङ्कले आफ्नो ट्वीटरको ह्याण्डलमा ट्वीट गरेकी छन्, ‘हाम्रा लागि यो सबै खुसीको कुरा हुने थियो ।’
साउदी अरबको धनी परिवारमा १० मार्च १९५७ मा जन्मिएका ओसामा बिन लादेन अमेरिकामाथि गरेको सेप्टेम्बर ११ मा गरेको आक्रमणपछि संसारभर चर्चामा आएका थिए ।