एजेन्सी । ब्राजिलियन राष्ट्रपति डिल्मा रुसेफमाथि महाअभियोग लगाउने विषयमा आशंक पैदा भएको छ ।
ब्राजिलको संसदको तल्लो सदनका कार्यकारी अध्यक्ष वाल्दिर मारान्याओले १७ अप्रिलमा लगाएको महाअभियोगलाई प्रमाणित गर्ने भोटिङ रद्द गरिदिएका छन् ।
यस भोटिङपछि सिनेटमा महाअभियोग चलाउने विषयमा बुधबार भोटिङ हुँने कार्यक्रम थियो । उनले तल्लो सदनमा गडबढी भएको समेत बताएका छन् ।
मारान्याओले सांसदहरुलाई भोटिङ भन्दा पहिले कुन पक्षमा भोट हाल्ने भनेर बताउनु र पार्टी नेताहरुले सदस्यहरुलाई भोटिङका बारेमा निर्देशन दिनु गलत भएको बताएका छन् ।
मारान्याओले तल्लो सदनमा दोस्रो पटक भोटिङ गराउनुपर्ने बताएका छन् । यद्धपि सिनेट यसलाई तल्लो सदनमा पठाउन तयार हुन्छ कि हुँदैन भन्ने विषयमा प्रष्ट बाहिर आएको छैन ।
ब्राजिली संसदको तल्लो सदन ‘च्याम्बर अफ डेम्पुटिज’ मा रुसेफलाई महाअभियोग लगाउनुपर्ने पक्षमा ३६७ मत परेको थियो ।
ब्राजिलको संविधानअनुसार कार्यकारी अधिकारसहितको सभामुखको भनाईले राजनीतिक माहौलले नयाँ मोड लिएको छ ।
अघिल्लो साता तल्लो सदनबाट महाअभियोग पारित गराउँउने सभामुख एडवार्डो कुन्हालाई बर्खास्त गरी मारान्याओलाई नियुक्त गरिएको थियो । कुन्हाले डिल्मा रुसेफको विरोध गर्दै महाअभियोग लगाउने मोर्चा सम्हालेका थिए ।
रुसेफमाथि सन् २०१४ मा दोस्रो पटक राष्ट्रपति भएपछि सरकारी खाताको दुरुपयोग गरेको आरोप लगाइएको छ । रुसेफले भने यो आरोपको प्रतिवाद गर्दै आएकी छन् ।