CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • दासढुंगा दुर्घटनाको २३ वर्ष, मदन–आश्रित स्मृति दिवस

    काठमाडौं । आज २३ औं मदन–आश्रित स्मृति दिवस, नेकपा एमालेले विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्गीय नेता मदन भण्डारी र जीवराज आश्रितलई सम्झदै छ ।

    नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा परि निधन भएको २३ वर्ष पुरा भएको छ ।

    वि.सं.२०५० साल जेठ ३ गते पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा जाँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा जिप चालक अमर लामा बाँचेपनि पछि उनको हत्या हुनुले दुर्घटना थप रहस्यमय बनाएको छ ।

    भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन–आश्रित दिवस मनाउने गरेको छ । यसक्रममा एमालेले आज पुरानो पार्टी कार्यालय रहेको मदननगर बल्खुमा कार्यक्रमको आयोजना गरेको छ ।

    स्मृति दिवसको कार्यक्रम राजधानी र दासढुङ्गा लगायत मुलुककका विभिन्न ठाँउमा आयोजना गरिने छ ।

    तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुखको सडक दुर्घटनाबारे अनुसन्धान नगरेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।

    सोमबार बिहान पुरानो केन्द्रीय कार्यालय मदन नगर बल्खुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘माल्र्यापण तथा श्रद्धाञ्जलि’ र दिउँसो राष्ट्रिय नाचघर जमलमा विचार ‘गोष्ठी’ आयोजना गरिएको छ ।

    बहुदलीय जनवादका ब्याख्याता जननेता मदन भण्डारीको सिद्धान्तलई एमालेले आफ्नो मुल सिद्धान्त मान्दै आएको छ ।

    जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो ।

    यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेका छैनन् । हाल मदनकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति छन् ।

    अहिले एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । तर, घटनाको वास्तविकता सार्वजनिक गर्नेगरि अनुसन्धान भने हुन सकेको छैन ।