CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • सेप्टेम्बर ११ को आक्रमणमा साउदीविरुद्ध मुद्दा हाल्ने विधेयक पास

    एजेन्सी । अमेरिकामा सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणमा साउदी सरकारविरुद्ध मुद्दा हाल्ने विधेयक सिनेटले पास गरेको छ ।

    जस्टिस अगेन्स्ट स्पोन्सर्स अफ टेररिजम एक्ट अब अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा पठाइनेछ ।

    विधेयक पारित भएपछि साउदी अरबका विदेश मन्त्रीले भने यसको बदलामा साउदी सरकारले अमेरिकामा रहेको लगानीबाट हात झिक्न सक्ने चेतावनी दिएका छन् ।

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस विधेयकमा भिटो प्रयोग गर्ने बताएका छन् । तर, डेमोक्रेटिक सांसदहरुले ओबामाले भिटो प्रयोग नगर्ने विश्वास व्यक्त गरेका छन् ।Pentagon

    यदि यो विधेयक पास भएर कानून बन्यो भने सेप्टेम्बर ११ को आक्रमणका पीडितले साउदी सरकारका कुनै पनि यस्ता सदस्यविरुद्ध मुद्दा चलाउन सक्छन्, जसको यो आक्रमणमा भूमिका रहेको मान्न सकिन्छ ।

    साउदी अरबले भने २००१ मा भएको यो आक्रमणमा आफ्नो भूमिका अस्वीकार गर्दै आएको छ । वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको यो आक्रमणाा ३००० मानिसको ज्यान गएको थियो ।

    आक्रमणमा प्रयोग गरिएको विमान अपहरण गर्ने १९ जना व्यक्ति मध्ये १५ जना साउदी अरबका नागरिक थिए ।

    सेप्टेम्बर ११ को आक्रमणबारे अध्ययन गर्न बनेको आयोगले साउदी सरकारको कुनैपनि संस्था र वरिष्ठ अधिकारीहरुले स्वतन्त्र रुपले सहयोग गरेको कुनै प्रमाण नभएको रिपोर्ट बुझाएको थियो ।

    यो आक्रमणको जिम्मा चरमपन्थी संगठन अल कायदाले लिएको थियो । अलकायदाका प्रमुख ओसामा बिन लादेन साउदी अरबकै नागरिक भएपनि साउदी सरकारले उनको नागरिकता खारेज गरिसकेको थियो ।