दाङ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए । अहिलेको संविधान परिवर्तनीय भएकाले विवादित कुरालाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने उनकाे भनाइ थियो ।
“८० प्रतिशत हिन्दू भएको देशलाई धर्मनिरपेक्ष कसरी घोषणा गर्न सकिन्छ, यसले पछि द्वन्द्व निम्त्याउने खतरा हुन्छ, यसलाई समयमै जनमत सङ्ग्रह वा जनताको भावनाअनुसार निर्णय गर्नुपर्छ”, उनले भने ।
अतिवादी शक्ति विभिन्न बहानामा अस्थिरता निम्त्याउन लागेको भन्दै त्यसो हुन नदिन पनि बेलैमा समस्याको समाधान गर्नतर्फ दलहरु लाग्नुपर्ने उनकाे तर्क थियो ।
त्यस्तै, उनले ओली सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरे । उनले काँग्रेस सरकार गिराउने खेलमा नलाग्ने भन्दै रचनात्मक प्रतिपक्षको भूमिका आफूहरुले खेल्ने बताए ।