दमौली । तनहुँको दमौलीबाट दुईपिप्ले, सोतीपसल हुँदै जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस बिहीबार साँझ मध्यनेपाल नगरपालिका–५ तामाखानीस्थित तारेभिरबाट करिब ३०० मिटर तल खसी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पछिल्लो पटक मृत्यु हुनेमा मध्यनेपाल नगरपालिका–६ बस्ने १६ वर्षीय सागर थापा र दुई महिनाकी बालिका जोया खवास रहेका छन् ।
उनीहरुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पाल पोखरा लगिनुका साथै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका नौ जनाको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख डा पवनजङ्ग रायमाझीले बताए । मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएकाको लास उतै राखिएकाले पोखरामै शवपरीक्षण गरिने बताइएको छ ।
उक्त बस सहचालकले चलाएकाले दुर्घटना भएको र बस चालक सुरज विक भने अहिलेसम्म फरार रहेको इलाका प्रहरी कार्यालय दुईपिप्लेले जनाएको छ ।