CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • आज २५६० औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाईदै

    Buddhaकाठमाडौं । आज बुद्ध जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।

    गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

    इसापूर्व ५६३ अर्थात आजभन्दा २५६० वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।

    राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।

    राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किका थिए ।

    ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।

    बुद्धजयन्तीको दिन नसरकारले सार्वजनिक विदा समेत दिने गर्दछ । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ ।

    यसवर्ष बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा राष्ट्रपति विद्या भण्डारीको विशेष उपस्थितिमा २८ देशका बौद्ध भिक्षु तथा विद्वानहरुको सहभागितामा विशेष समारोहको आयोजना गरिएको छ ।