CanadaKhabar.com

Wednesday, February 25, 2026 -

हिकाष्ट कलेजको पन्ध्रौ वार्षिकोत्सवमा कृषिमन्त्रीले भने, ‘७ अर्बको कृषि बजेट’

Hikast collageकाठमाडौं । कृषिमन्त्री हरिबोल गजुरेलले अबको बजेटमा कृषि क्षेत्रका लागि ७ अर्ब विनियोजन गर्ने बताएका छन् ।

हिमालय कलेज अफ एग्रीकल्चर साईन्सेस एण्ड टेक्नोलोजी (हिकाष्ट) कलेजको १५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गजुरेलले मुलुकले कृषिक्षेत्रमा उल्लेखनी उपलब्धि हासिल गरिसकेको भन्दै आगामी दिनमा प्रविधिका माध्यमबाट यसलाई माथि उकास्न सकिने बताए ।

जीविकोपार्जन कृषि प्रणालीको निरन्तरताले कृषिको विकास नहुने भन्दै मन्त्री गजुरेलले व्यवसायिक कृषिको विकासका लागि हिकाष्ट कलेजसँग सहकार्य गरेर अघि बढ्ने समेत जानकारी गराए ।

हिकाष्ट कलेजको १५ औँ वार्षिकोत्सवको अवसरमा पशु चिकित्सक प्रा.डा.मुक्ति नारायण श्रेष्ठ, च्याउ विशेषज्ञ प्रा.डा.केशरी लक्ष्मी मानन्धर, पशु चिकित्सक डा.सुन्दर लाल श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

कलेजले यसवर्षको लाईफ टाईम अचिभमेन्ट एवार्ड डा.हेरम्ब बहादुर राजभण्डारीलाई प्रदान गरेको छ । एक दशकदेखि निरन्तर रुपमा कार्यरत १७ कर्मचारीलाई कलेजले प्रशंसापत्र समेत प्रदान गरेको छ ।

कार्यक्रमकामा बोल्दै पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा.सुभ नारायण पाठकले पछिल्लो समय कृषिमा भएको विकासलाई संख्यात्मक रुपमा मात्रै नहेरी गुणात्मक पाटोलाई केलाउन जरुरी रहेको बताए ।

कार्यक्रममा कृषि तथा पशु चिकीत्सा क्षेत्रमा लामो समयदेखि लागिपरेका व्यक्ति, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।