CanadaKhabar.com

Wednesday, May 15, 2024 -
  • रियो ओलम्पिक रद्द वा स्थान सार्न गरिएको अपिल खारेज

    एजेन्सी । संसारका १ सय भन्दा बढी शीर्ष वैज्ञानिकहरुले जिका भाइरसका कारण यस वर्ष ब्राजिलको रियो दि जेनेरियोमा हुन लागेको विश्व खेलकुदको कुम्भमेला ओलम्पिक रद्द गर्न वा स्थान परिवर्तन गर्न गरेको अपिल खारेज भएको छ ।
    वैज्ञानिकहरुको समूहले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई पत्र देख्दै जिका भाइरसका बारेमा खोज अनुसन्धान भइरहेका बेला जिका प्रभावित क्षेत्रमा नै ओलम्पिक आयोजना गरिनु अनैतिक हुने भन्दै रद्द गरिनुपर्ने बताएका थिए । rio olimpic
    तर डब्लुएचओले उनीहरुको यो अपिल खारेज गरिदिएको हो । हालै मात्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले पनि जिका भाइरसकै कारण ओलम्पिक आयोजनाको स्थान सार्नुपर्ने वा ढिला गर्नु पर्ने कुनै कारण नदेखेको जनाएको थियो ।
    लामखुट्टेको टोकाइबाट लाग्ने जिका भाइरस एक वर्षअघि ब्राजिलमा फैलिएको थियो । तर पछिल्लो समयमा यो रोग दर्जनौ देशका लाखौ मानिसहरुमा फैलिइसकेको छ ।

    पत्रमा १५० वैज्ञानिक, डाक्टर र मेडिकल क्षेत्रसँग जोडिएका व्यक्तिहरुको हस्ताक्षर थियो । हस्ताक्षर गर्नेमा अक्सफोर्ड, हार्वर्ड र येल युनिभर्सिटीका वैज्ञानिकहरु समेत थिए । उनीहरुले जिका भाइरस फैलिनुमा लामखुट्टे नष्ट गर्ने कार्यक्रमको असफलता र कमजोर स्वास्थ्य सेवा प्रमुख कारक भएको दावी गरेका थिए । रियो ओलम्पिक आगामी अगस्ट महिनाको ५ देखि २१ सम्म ब्राजिलको रियो द जेनेरियोमा हुँदैछ ।