CanadaKhabar.com

Wednesday, February 25, 2026 -

संविधान कार्यान्वयन गर्न सबै महिला एक हुनुपर्छ : सभामुख

speaker-onsari-gharti-magarकाठमाडौँ, १६ जेठ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताएकी छन् ।

महिला अधिकार कानुन मञ्चको २१औँ स्थापना दिवसका अवसरमा सभामुख घर्तीले संविधानमा प्राप्त अधिकार कार्यान्वयन गर्न र बाँकी अधिकार प्राप्तिका लागि निरन्तर रुपमा आवाज उठाउनुपर्ने भन्दै त्यसका लागि सबै नेपाली महिला एक भएर लाग्नुपर्नेमा जोड दिइन् ।

“जारी संविधानले महिलाको धेरै अधिकारलाई सम्बोधन गरेकाले अब नेपाली महिला निरास हुने अवस्था छैन, नेपाली महिला आफ्नो अधिकार प्राप्तिका लागि जसरी एक भएका थिए त्यसरी नै अधिकार कार्यान्वयनका लागि लाग्नुपर्छ”, सभामुखले भनिन् ।

सो अवसरमा पशुपक्षी विकासमन्त्री शान्ता मानवीले महिलाले केही अधिकार प्राप्त गरेको अब बाँकी अधिकार प्राप्त गर्नका लागि आन्दोलनको स्वरुप परिवर्तन गरी अघि बढ्नुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले लामो समयदेखि पछि परेका नेपाली महिलाको केही अधिकारको सम्बोधन भए पनि धेरै अधिकार सम्बोधन हुन बाँकी रहेकाले बाँकी अधिकार सुनिश्चित गर्न सबै महिला अधिकारकर्मीलाई एक भएर अधि बढ्न आग्रह गरिन ।