एजेन्सी– भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा टिप्पणी गरेकी छन् ।
मोदी सरकारले दुई वर्ष पूरा गरेकोमा खुसियाली मनाएलगत्तै गान्धीले मोदी प्रधानमन्त्री भएको तर राजा नभएको भन्दै कडा टिप्पणी गरेकी हुन् ।
सोनियाले देशमा गरिबी बढेको, खडेरीका कारण किसानहरू समस्यामा रहेको बेलामा मोदीले खुसियाली मनाउनुको कुनै अर्थ नरहेको बताएकी हुन् ।
मोदीको मन्त्रिमण्डलकै सदस्यहरूले मोदीलाई यो दर्जा दिइरहेको र आफू खुसियाली मनाउन व्यस्त रहेको उनको टिप्पणी छ ।
सोनियाले आफ्ना ज्वाइँ रोबर्टमाथि लागेको आरोपको समेत खण्डन गर्दै यो उनीमाथिको षड्यन्त्र र ‘कांग्रेसमुक्त भारत’ नाराबाट रचना गरिएको बताइन् । रोबर्टमाथि हतियारको दलाली गरेको र लन्डनमा घर किनेको आरोप लगोको छ ।
सरकारले यस घटनामाथि निष्पक्ष छानबिन गर्नुपर्ने उनको भनाइ छ । रोबर्टका वकिलले लन्डनमा उनको प्रत्यक्ष वा परोक्ष रूपमा सम्पत्ति रहेको कुरालाई अस्वीकार गर्दै आएका छन् ।