एजेन्सी । भारतमा संसारकै सबैभन्दा धेरै मानिसहरु आधुनिक दासको रुपमा जीवन विताउन बाध्य रहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले दुई वर्ष पुरा गरेको अवसरमा विज्ञापन र कार्यक्रम गरि आफ्ना उपलब्धिको बयान गरिरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
भारतमा अहिले पनि करिब १ करोड ८३ लाख मानिसहरु वेश्यावृत्तिदेखि भीख माग्नेसम्मका निम्नस्तरका काम गर्न बाध्य भएको पाइएको हो ।
अस्ट्रेलियाको मानवअधिकारवादी समूह ‘वाक फ्रि फाउण्डेशन’ ले सार्वजनिक गरेको ‘ग्लोबल स्लेबरी इन्डेक्स’ मा संसारभरमा ४ करोड ६ लाख मानिसहरु निम्नस्तरको दासी जीवन विताउन बाध्य भएको र त्यसमध्ये १ करोड ८३ लाख भारतमा रहेको जनाएको हो ।
भारतको सम्पूर्ण जनसंख्या १ अर्ब ३ करोड भन्दा बढी छ । बिना खतरा हिंसा, जबर्जस्ती, निराशाका कारण सक्षम हुन नसकेका र शक्तिको दुरुपयोगबाट गरिने शोषणमा बस्न बाध्य हुनुपर्ने परिस्थितिलाई यसमा मूल्यांकन गरिएको छ ।
यसरी निम्नस्तरको काममा संलग्न आधुनिक दासी जीवन विताउनेहरुमा महिला र बच्चा समेत रहेका छन् । यो संख्या सन् २०१४ मा ३ करोड ५८ लाख थियो ।
उत्तर कोरियामा यो संख्या ४.३७ प्रतिशत रहेको र यसलाई अन्त्य गर्न त्यहाँको सरकार संसारकै कमजोर देखिएको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।
ग्लोबल स्लेबरी इन्डेक्समा जम्मा १ सय ६७ देशहरु सामेल रहेका छन् । यसमा शीर्ष पाँच स्थानमा नै एसियाली देशहरु परेका छन् । भारतपछि चीनमा ३३ लाख ९ हजार, पाकिस्तानमा २१ लाख ३ हजार, बंगलादेशमा १५ लाख ३ हजार र उज्वेकिस्तानमा १२ लाख ३ हजार मानिस निम्नस्तरको काम गर्न बाध्य छन् । रिपोर्टमा यी पाँच देशको तथ्यांकलाई जोड्ने हो भने संसारकै दासी जीवन बिताइरहेका मानिसहरुको ५८ प्रतिशत हुन जान्छ ।
यस अनुसन्धानमा २५ देशमा ५३ भाषाका माध्यमबाट अन्तर्वार्ता लिइएको थियो भने भारतका १५ राज्यमा सर्वेक्षण गरिएको थियो । यसले संसारको जनसंख्याको ४४ प्रतिशतलाई प्रतिनिधित्व गर्छ । यस सूचीमा लक्जमबर्ग, आयरल्याण्ड, नर्वे, डेनमार्क, स्विट्जरल्याण्ड, अस्ट्रिया, स्वीडेन, बेल्जियम, अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् ।
अनुसन्धानमा सरकारका तर्फबाट चालिएका कदमहरुलाई समेत समावेश गरिएको छ । जसमा १ सय ६१ देशमध्ये १ सय २४ देशले मानव तस्करीलाई अपराध मान्दछन् भने ९६ देशले राष्ट्रिय कार्यक्रम नै निर्माण गरेका छन् ।
भारतले यसलाई अन्त्य गर्नका लागि तस्करी, गुलामी, जबर्जस्त मजदुरी, नाबालिग वेश्यावृत्ति, जबर्जस्ती विवाहलाई समेत अपराध मानेपनि गुणात्मक सुधार हुन नसकेको पाइएको हो ।
तर उत्तर कोरिया, इरान, इरिट्रिया, इक्वेटोरियल गिनी, हङकङ, सेन्ट्रल अफ्रिकन गणतन्त्र, पपुवा न्युगिनी, गिनी, कंगो र दक्षिण सुडान आधुनिक दासी व्यवस्थालाई अन्त्य गर्न असफल देखिएका छन् ।