काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनको लक्ष्मण रेखालाई आत्मसात् गरी बजेट प्रस्तुत गरेको बताएका छन् ।
आर्थिक वर्ष २०७३/०७४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिनुभएका विभिन्न सांसदले व्यवस्थापिका–संसद्मा उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विकास निर्माणको कार्यलाई जोड दिन ठूलो आकारको बजेट प्रस्तुत गरेको बताए ।
उनले बजेट निर्माण गर्दा विषय विशेषज्ञसँगको छलफल र राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको सिलिङलाई आधार मानेको तथा प्राप्त स्रोत र साधनलाई मध्यनजर गरी न्यायपूर्ण समतामुलुक समाज निर्माणमा न्यायोचित बजेट विनियोजन गरेको दाबी गरे ।
उनले आगामी दुई वर्षभित्र विद्युत् भार कटौतीको अन्त्य गर्न बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा बजेट कम हुन नदिने र बजारमा तरलताको अवस्था आउन नदिन लगानीको वातावरणमा सुधार ल्याउन करको दायरा बढाएको पनि स्पष्ट पारे ।
मन्त्री पौडेलले सन्तुलित विकासका लागि सरकारले तराईका १८ जिल्लामा रु नौ अर्ब बजेट विनियोजन गरेका, काठमाडौँ द्रुतमार्ग, कृषि उद्योग, जलस्रोत कृषिको आधुनिकीकरण, सडक, विमानस्थल, सहरी विकास आयोजना, जलविद्युत्, कृषि सहकारी क्षेत्रको विकासमा सरकार सन्तुलित रहेको बताए ।
उनले अागामी अार्थिक वर्ष ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने गरी रकम र कार्यक्रमको व्यवस्था गरेको उल्लेख गरे ।