काठमाडौं । कोपा अमेरिका कप अन्तर्गत बुधबार बिहान भएको खेलमा अमेरिका र कोलम्बिया विजयी भएका छन् ।
बुधबार बिहान भएको पहिलो खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई ४–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा अमेरिका कोलम्बियासँग पराजित भएको थियो ।
खेलमा अमेरिकाले नवौं मिनेटमा नै क्लिन्ट डेम्पसीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । क्रिष्टिन आम्बोओले बोबी वुडलाई लडाइपछि अमेरिकाले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
खेलको ३७ औं मिनेटमा जोन्सले गोल गरे भने ४२ औं मिनेटमा वुडले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा भने कोष्टारिकाले राम्रो प्रदर्शन गर्दै अमेरिकालाई दबाबमा राखेपनि गोल गर्न भने सकेन । खेलको ८७ औं मिनेटमा जुसीले गोल गर्दै अमेरिकालाई ४–० को प्रभावशाली जित दिलाए ।
बुधबार बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ ले हराउँदै लगातार दोस्रो जित निकाल्यो । यो जितसँगै उसले प्रतियोगिताको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
कोलम्बियाको जितमा कार्लोस बाक्का र रोड्रिग्वेजले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि भिक्टर आएलाले गोल फर्काएका थिए ।