CanadaKhabar.com

Monday, August 31, 2026 -

फाइबरमाथि भारतीय एकाधिकार अन्त्य, चीनसँग जोडियो सन्जाल

काठमाडौं । दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जाल जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।

गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालमाथिको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो ।

‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो, अब चाँडै व्यवसायिक प्रयोग सुरु हुन्छ ।’

रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी कम्पनी चाइना टेलिकम्युनिकेशन कर्पोरेसन एक आपसमा जोडिएका हुन् ।

दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ । परीक्षण क्रममा रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा सफल भएको थियो ।