एजेन्सी । भारतले परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि गरेको आवेदन चीनले तत्कालका लागि रोकिदिएको छ ।
अस्ट्रियाको भियानामा भएको एनएसजीको बैठकमा चीन भारतलाई सदस्यता दिने प्रस्तावको विपक्षमा उभिएको हो । अब भारतले गरेको सदस्यता आवेदनको अन्तिम टुंगो एक महिनापछि दक्षिण कोरियाको राजधानी सोलमा हुने पूर्ण अधिवेशनले लगाउनेछ ।
भियानामा भएको एनएसजीको दुईदिने बैठकमा यस निवदेनमाथि छलफल भए पनि कुनै निर्णय भने हुन सकेन ।
भारतको सदस्यताका विषयलाई अमेरिकासहितका अधिकांश देशले समर्थन गरे पनि चीनले विरोध गरेपछि भारतले तत्कालै सदस्यता नपाएको हो ।
परमाणु अप्रसार सन्धी (एनपीटी)मा भारतले अझै हस्ताक्षर नगरेको विषयमा विवाद भएको थियो । भारतले सो सम्झौतामा मौखिक सहमति जनाए पनि अझै हस्ताक्षर नगरेको भन्दै तत्काल सदस्यता दिन नहुने पक्षमा चीन उभिएको छ ।
चीनले भारतलाई सदस्यता दिने विषयमा सीधै विरोध नगरे पनि एनपीटीमा हस्ताक्षर गर्नुपर्ने अडान राखेको छ । एनएसजीमा सबै निर्णय सर्वसम्मतिमा हुने भएकाले कुनै एक देशले विरोध गरेमा पनि प्रस्ताव पारित हुँदैन ।
४८ सदस्यीय एनएसजीमा चीनसहित न्युजिल्यान्ड, आयरल्यान्ड, टर्की, दक्षिण अफ्रिका र अस्ट्रिया भारतलाई सदस्यता दिने विषयमा विपक्षमा छन् । एनएसजीको पूर्ण अधिवेशन अब जुन २४ मा सोलमा हुनेछ ।