काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा विश्व विजेता जर्मनीसँगै पोल्याण्ड र क्रोएसियाले विजयी सुरुवात गरेका छन् ।
आइतबारराति भएको खेलमा तीन पटकको युरो कप विजेता जर्मनीले युक्रेनलाई २–० ले पराजित गरेको हो । जर्मनीको जितमा मुस्ताफी र स्वेन्सटाईगरले एक–एक गोल गरे ।
समुहको अर्को खेलमा पोल्याण्डले नर्दन आयरल्याण्डमाथि १–० को जित निकालेको छ । पोल्याण्डका लागि मिलिकले ५१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
युरोकप फुटबलमा पोल्याण्डको यो पहिलो जित हो । तेस्रो पटक युरोकप खेलिरहेको पोल्याण्डले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको थिएन ।
युरो कप फुटबलअन्तर्गत आइतबारसाँझ भएको अर्को खेलमा क्रोएशियाले टर्कीलाई १–० ले हरायो । खेलमा क्रोएशियालाई विजयी गराउन लुका मोड्रिकले निर्णायक गोल गरे ।
युरो कप फुटबलमा सोमबारराति तीन खेल हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ७ बजे हुने खेलमा स्पेन र चेक गणतन्त्र भिड्ने छन् ।
यसैगरी बेलुकी पौने १० बजे आयरल्याण्ड र स्विडेन भिड्नेछन् भने राति पौने १ बजे इटालीले बेल्जियमसँग खेल्नेछ ।