एजेन्सी । अमेरिकी राज्य फ्लोरिडाको ओल्र्यान्डो सहरको एक नाइट क्लबमा भएको गोलाबारीमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएपछि राष्ट्रपति बाराक ओबामाले कडा प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति ओबामाले गोलाबारीको यस घटनालाई दर्जनौं निर्दोष मानिसमाथिको भीषण नरसंहार’ भएको बताएका छन् ।
ह्वाइट हाउसबाट जारी गरिएको एक वक्तव्यमा गोलाबारीको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिइएको छ ।
अझैपनि हत्याराका बारेमा स्पष्ट खुलिनसकेको जनाइएको छ । सहरका मेयर बडी डायरले घटनापछि सहरमा आपतकालको घोषणा गरेका छन् ।
समलिंगीहरुको एक क्लब ‘पल्स’ मा एक बन्दुकधारीले सयौं मानिसहरुलाई बन्धक बनाएर नरसंहार मच्चाएका थिए । ओल्र्यान्डो सहरमा रहेको सबैभन्दा ठूलो समलिंगी नाइटक्लब पल्समा भएको उक्त आक्रमणमा ५० जना मारिएका छन् भने थप ५३ जना घाइते भएका छन् ।
नाइटक्लबलाई नियन्त्रणमा लिएर नरसंहार मच्चाउने ओमार मातिन पनि प्रहरी कारबाहीमा मारिएका छन् । उनी अमेरिकी नागरिक भएको जनाइएको छ ।
अमेरिकी नेटवर्क एनबीसी न्युजका अनुसार मातिनले गोलीबारीभन्दा अघि इमरजेन्सी हेल्पलाईनमा फोन गरी आफू इस्लामिक स्टेट (आइएस) सँग जोडिएको बताएका थिए ।