काठमाडौं । स्पेन र इटाली फ्रान्समा जारी युरोकप फुटबलको दोस्रो चरणमा पुगेका छन् । शुक्रबार भएको खेलमा स्वीडेनमाथि १–० को कठिन जित निकाल्दै अन्तिम १६ मा पुगेको छ । जितसँगै इटाली समूह चरणको एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको ८८औं मिनेटमा इडरले गरेको गोल नै इटालीको जितमा निर्णायक बन्यो । यो जितसँगै इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेले अपराजित यात्रालाई १२ खेलसम्म पुर्याएका छन् ।
समूह ‘इ’ पहिलो खेलमा इटालीले बेल्जियमलाई २–० ले हराएको थियो । पहिलो खेलमा आयरल्याण्डसँग बराबरी खेलेको स्वीडेनको अर्को चरण प्रवेशको सम्भावना जिवितै रहेको छ ।
यस्तै साविका विजेता स्पेनपनि प्रिक्वाटरफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा टर्कीलाई १–० ले हराएको हो । टर्कीको भने यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा टर्की क्रोएसियासँग १–० ले पराजित भएको थियो ।
स्पेनको जितमा अलभारो मोराटाले दुई तथा नोलिटोले एक गोल गरे । समूह ‘डी’मा रहेको स्पेनले आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई १–० ले हराएको थियो ।
शुक्रबाररातिको अर्को खेलमा चेक रिपब्लिक र क्रोएसियाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।
खेलको ७५ औं मिनेटसम्म २–० को अग्रता लिएर पनि क्रोएसिया बराबरीमा रोकिन बाध्य भयो । ३७ औं मिनेटमा इभान पेरिसिकले गोल गरेपछि पहिलो हाफमा क्रोएसियाले १–० को अग्रता लिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा इभान राकिटिचले क्रोएसियाको अग्रता दोब्बर पारे ।
तर, ७५ औं मिनेटमा मिलान स्कोडा तथा ८९ औं मिनेटमा टोमस नेसिडले पेनाल्टीमार्फत् गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको हो ।