CanadaKhabar.com

Sunday, November 24, 2024 -
  • ओलम्पिक आउन लाग्दा रियो दि जेनेरियोमा आर्थिक संकटकाल

    Rio de jenerioरियो दि जेनेरियो/एजेन्सी । ब्राजिलको रियो दि जेनेरियामो आर्थिक संकटकालको घोषणा गरिएको छ । सन् २०१६ को ओलम्पिक आउँन ५० दिन भन्दा कम समय बाँकी रहेको अवस्थामा आर्थिक संकटकाल घोषणा गरिएको हो ।

    राज्यका अन्तरिम गर्भनर फ्रान्सिस्को दोर्नेल्सले राज्य ‘गम्भीर आर्थिक संकट’ आइपरेको भन्दै आर्थिक संकटका कारण ओलम्पिक अघि नै यस्तो कदम चाल्नुपरेको बताएका छन् ।

    आर्थिक संकटकालको घोषणापछि ओलम्पिक आयोजनका लागि सार्वजनिक सेवाहरुमा कटौती गर्न विशेष कदम चाल्न अधिकार हुनेछ । रियो ओलम्पिकको यातायात र प्रहरी व्यवस्थापनको जिम्मा राज्य सरकारले लिएपनि अघिकांश खर्च रियोको स्थानीय निकाबाट भइरहेको छ ।

    तेल उद्योगबाट घट्दो करका कारण ब्राजिलको अर्थव्यवस्थामा ठूलो असर परेको छ । विश्वमै तेलको मूल्यमा भारी गिरावट आएपछि तेलनिर्भर देशहरुले संकटको सामना गर्नुपरेको हो ।

    रियो दि जेनेरियो राज्यका कर्मचारी, पेसन लिनेहरुका साथै अस्पताल, प्रहरीचौकी समेत आर्थिक समस्याबाट नराम्ररी प्रभावित रहेका छन् ।

    ब्राजिलका अन्तरिम राष्ट्रपति मिसेल टेमरले रियोलाई महत्वपूर्ण आर्थिक सहयोग गर्नु प्रतिबद्धता जनाएका छन् । ब्राजिलमा आर्थिक संकटबाट बचाउन विशेष कार्यक्रम ल्याउन नसकेको लगायतका आरोप राष्ट्रपति डिल्मा रुसेफमाथि लागेको थियो ।

    उनीमाथि गत महिनामात्रै महाअभियोग लगाउने प्रस्ताव माथिल्लो सदनबाट पारित भएपछि रुसेफले पदच्युत भएकी थिइन् । उनकै सरकारमा उपराष्ट्रपति रहेका मिसेल टेमरले ब्राजिलको अन्तरिम राष्ट्रपतिको रुपमा कार्यभार सम्हालिरहेका छन् ।

    गत वर्षमात्रै जिका भाइरसको संक्रमण सुरु भएको ब्राजिलमा लाखौं जनता प्रभावित छन् । जिका भाइरसका कारण ओलम्पिक समेत प्रभावित हुनसक्ने आशंका भइरहेका बेला आार्थिक संकटले थप जटिलता ल्याएको हो ।

    रियो ओलम्पिकमा कम्तिमा पनि ५ लाख पर्यटकहरुले भ्रमण गर्ने अपेक्षा गरिएको छ । रियोमा यसवर्ष ५.५ बिलियन डलरको बजेट घाटा हुनसक्ने अनुमान छ ।