CanadaKhabar.com

Monday, December 23, 2024 -
  • क्यानेडियन दूतावासमा कार्यरत १२ नेपाली र दुई भारतीय नागरिकको मृत्यु

    Kabul Attackकाठमाडौं । सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आतंकवादीले गराएको आत्मघाती आक्रमणमा मारिनेमा १२ नेपाली र दुई भारतीय नागरिक रहेको खुलेको छ ।

    सोमबारराति अपगानिस्तानमा रहेका क्यानेडियन राजदूत डेबोरा ए लियोन्सले एक विज्ञप्ती जारी गर्दै आक्रमणमा १२ नेपाली र दुई भारतीय नागरिक मारिएको प्रष्ट पारेका छन् ।

    यसअघि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले आक्रमणमा मारिने सबै १४ जना नेपाली नागरिक रहेको बताएका थिए । सोही अनुसार नेपाली सञ्चारमाध्यमहरुले पनि १४ नेपाली नागरिक मारिएको समाचार संप्रेषण गरेका थिए ।

    सोमबार दिउँसो परराष्ट्र मन्त्रालयले आयोजना गरेको औपचारिक पत्रकार सम्मेलनमा १२ नेपाली मारिएको बताएपनि मारिएका दुई जनाबारे अन्यौलता छाएको थियो ।

    भारतीय विदेश मन्त्रालयले समेत काबुलमा मारिएका दूई जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ । मृत्यु हुने भारतीय नागरिकमध्ये एकजना नेपाली मूलका छन् । उनी देहरादूनका गणेश थापा हुन् भने अर्का मृतक देहरादूनकै गोविन्द सिंह रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा सर्वे इन्टरनेसनल मार्फत सुरक्षा गार्डका रुपमा खटिएका नेपालीहरु चडेको मिनीबसमा तालिवानी आतंकवादीले आत्मघाती आक्रमण गरेका थिए ।