CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • डेमोक्रेटिक पार्टीका सांसदले सुरु गरे संसदभित्रै धर्ना

    us_democratsएजेन्सी । अमेरिकामा बन्दुकको बिक्रीमाथि नियन्त्रण गर्नुपर्ने मुद्दालाई लिएर डेमोक्रेटिक पार्टीका करिब एक सय जना सांसदहरु अमेरिकी प्रतिनिधिसभामा धर्नामा बसेका छन् ।

    बन्दुक खरिद गर्ने व्यक्तिको पूर्ण पृष्ठभूमिको व्यापक जाँच गर्नुका साथै चरमपन्थीका लागि बन्दुक बेच्न पूर्ण रुपमा रोक्न उनीहरुले माग गरेका छन् ।

    सदनमा लगातार ११ घन्टासम्म विरोध प्रदर्शन जारी रहेपनि सदनका अध्यक्ष रिपब्लिकन पार्टीका नेता पल रेयानले यसलाई सस्तो प्रचारको संज्ञा दिएका छन् ।

    यसै महिना अमेरिकाको फ्लोरिडा राज्यस्थित ओल्र्यान्डो सहरमा एक समलैगिक रात्री क्लब पल्समा भएको गोलाबारीमा ४९ जनाको मृत्यु भएपछि अमेरिकामा हतियार बिक्रीमाथिको बहसले व्यापकता पाएको छ ।

    राष्ट्रपति बाराक ओबामा सहित केही सांसदहरुले अमेरिकामा हतियार खरिद सम्बन्धि कानुनलाई कडा बनाउँने बताइरहेका छन् । रिपब्लिकन पार्टीको प्रस्तावको समर्थन गरिरहेका डेमोक्रेटिक पार्टीका सांसद ह्यारी रिडले भने सहमतिमा जोड दिइरहेका छन् ।

    उनले रिपब्लिकन पार्टीका सांसद सुसान कोलिन्सको नयाँ प्रस्तावको समर्थन गरेका छन् जसमा आतंकवादसँग जोडिएका व्यक्तिलाई हतियार खरिदमा रोक लगाउनुपर्ने उल्लेख छ ।

    अमेरिकी काँग्रेसमा बहुमत रहेको रिपब्लिकन पार्टीले सदनको काम कारबाही रोक्न माग गरेको छ । तर रिपब्लिकन पार्टीका सांसदहरुले अनलाईनमा बसेर धर्नाका फोटाहरुसमेत ट्विट गरिरहेका छन् ।

    धर्नाको ६० को दशकमा भएको नागरिक अधिकार आन्दोलनका नेता जोन लुईसले गरिरहेका छन् । ओल्र्यान्डो घटनापछि सिनेटमा पेश भएका बन्दुक नियन्त्रणसम्बन्धि प्रस्ताव पारित भएको थिएन ।

    सिनेटमा रहेको रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सिनेटरहरुले राजनीतिक लाईनमा भोट हाल्दै एक अर्काको प्रस्ताव असफल पारेका थिए ।

    तर दुवै पार्टीको समर्थनमा ल्याएको प्रस्ताव सदनमा पेश गरिदैछ । राष्ट्रपति बाराक ओबामाले समेत ट्विट गर्दै जोन लुईसलाई ‘बन्दुक हिंसाका विरुद्ध नेतृत्व गरेको’ भन्दै धन्यवाद दिएका छन् ।