CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • गिरान्चौर वस्ती निर्माण : धुर्मुस–सुन्तलीलाई १५ लाख सहयोग

    Tilganga-Help-Dhurmus-Suntaliकाठमाडौं । गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ ।

    प्रतिष्ठानको २४ औँ वार्षिकोत्सवको अवसरमा बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।

    भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा.सन्दुक रुइतले जानकारी दिए ।

    अष्ट्रेलियाका बबी हलोवासलगायत थुप्रै शुभचिन्तकहरुबाट सो रकम प्रतिष्ठानलाई प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

    धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य एवं गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

    डा. गोविन्द पोख्रेल र वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य प्रतिष्ठानको वोर्ड सदस्य छन् भने मदनकृष्ण श्रेष्ठ वोर्ड सल्लाहकार छन् । प्रतिष्ठानबाट प्राप्त उक्त सहयोगप्रति आभार व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले एउटा अस्पतालकातर्फबाट भएको उक्त सहयोगले निकै उर्जा मिलेको बताए ।

    प्रतिष्ठानको उक्त सहयोगसँगै ४ करोड ९६ लाख अनुमानीत लागत रहेको गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाका लागि फाउण्डेशनमा ३ करोड सहयोग जुटेको छ ।