CanadaKhabar.com

Wednesday, February 25, 2026 -

कुरान पढ्न नजान्नेको क्रूरतापूर्वक हत्या, बंगलादेशीलाई क्याफेमै रात्रिभोज

Bangladesh 2एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमणमा २० जना मारिएका छन् ।

ढाकाको अत्यन्तै सुरक्षित मानिएको गुलसन इलाकामा रहेको होले आर्टिसन क्याफेलाई कब्जामा लिएर आतंकवादीले ९ जना इटालियन, ७ जना जापानी, ३ जना बंगलादेशी र एक जना भारतीयको हत्या गरेका हुन् ।

सो क्याफेमा शुक्रबार राति आतंकवादी प्रवेश गरी दर्जनौंलाई कब्जामा लिएका थिए । कब्जामा लिइएकामध्ये गैरमुस्लिम नागरिकहरुको क्रूरतापूर्वक हत्या गरिएको हो ।

बंगलादेशको डेलीस्टारले आतंकवादीको कब्जाबाट मुक्त भएका एक बंगलादेशी नागरिकलाई उदृत गर्दै कुरान पढ्न नजान्नेलाई क्रूरतापूर्वक यातना दिएर हत्या गरेको जनाएको छ । ‘आतंकवादीहरूले कब्जामा परेका बंगलादेशीलाई भने कुनै नराम्रो व्यवहार गरेनन्’, उनले भनेका छन्, ‘बरु क्याफेमा नै रात्रिभोजको व्यवस्था गरे ।’

होले आर्टिसन क्याफेलाई आतंकवादीले कब्जामा लिएको करिब १२ घन्टापछि सुरक्षाकर्मीले गरेको जवाफी कारबाहीमा ६ जना आक्रमणकारी मारिएका छन् भने एकजनालाई जीवितै पक्राउ गरिएको बंगलादेश सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

आक्रमणको चरमपन्थी इस्लामी आतंकवादी संगठन आईएसले जिम्मा लिएको छ । इटालीका प्रधानमन्त्री माटियो रेन्जीले आक्रमणमा आफ्ना नागरिक पनि मारिएको पुष्टि गरेका छन् ।

गार्मेन्ट उद्योगमा काम गर्ने करिब १० जना इटालियन नागरिक बन्धक बनाएको त्यहाँको समाचार एजेन्सीले जनाएको छ । जापानका डेपुटी चिफ क्याबिनेट सेक्रेटरी कोइची हागिउदाले ७ जना जापानी नागरिक क्याफेमा परे पनि हताहतीको विषयमा प्रष्ट भइनसकेको जनाएका छन् ।

बंगलादेशको सेनाले आक्रमणमा परी मारिनेहरू विदेशी नागरिक रहेको जनाएको छ । मारिनेमा सबैभन्दा बढी इटाली र जापानी नागरिक रहेका छन् भने एक भारतीय महिला समेत रहेकी छन् ।

सैन्य अभियानका महानिर्देशक ब्रिगेडियर जनरल नइम असफाक चौधरीले सुरक्षाकर्मीको साझा अभियान सुरु हुनुअघि नै आतंकवादीहरूले २० बन्धकको निर्मम हत्या गरेको र मारिनेमा अधिकांशको घाँटी रेटिएको अवस्थामा पाइएको जनाएका छन् । सुरक्षाकर्मीले चलाएको अभियानको १३ मिनेटमा ६ आतंकवादी मारिएका थिए ।

प्रधानमन्त्री शेख हसिनाले बन्धकलाई उद्दार गर्न अभियान सञ्चालनका लागि सेनालाई निर्देशन दिएपछि ‘अपरेसन थन्डरबोल्ट’ सुरु भएको थियो । शुक्रबार राति अबेर सुरु भएको आतंकवादी आक्रमणका क्रममा दुई वरिष्ठ प्रहरी अधिकारीसमेत मारिएका थिए भने अन्य ३० जना घाइते भएका छन् ।

चौधरीले होले आर्टिजन बेकरी क्याफे परिसरमा खोजीका क्रममा यी विदेशी नागरिकका शव भेटिएको र शवलाई पोस्टमार्टम र पहिचानका लागि अस्पतालमा पठाइएको जनाएका छन् । घटनापछि प्रधानमन्त्री शेख हसिनाले बंगलादेशबाट आतंकवादी र हिंस्रक चरमपन्थीहरुको अन्त्यका लागि सबै उपाय अबलम्बन गर्ने बताएकी छन् ।