CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • अवैध रुपमा विदेश लैजान निरुत्साहित गर्न विशेष योजना

    काठमाडौं । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मर्यादित, व्यवस्थित तथा सुरक्षित वैदेशिक रोजगारीका लागि सरकार प्रयत्नशील रहेको बताएका छन् ।

    व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७३ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले मुलुकभित्र रोजगारीको उपयुक्त अवसर नभएका कारण वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई निरन्तर कम गरिने उल्लेख गरे ।

    उनले घरेलु कामदारका रुपमा महिलालाई असुरक्षित रुपमा विभिन्न मुलुकमा जाने प्रवृत्ति जारी रहेकामा चिन्ता व्यक्त गर्दैै अवैधानिक रुपमा लैजाने कार्यलाई निरुत्साहन गर्नेतर्फ सरकारले विशेष योजना लागू गर्ने बताए ।

    अफगानिस्तानको काबुलमा आतंककारी आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते नेपालीको उद्धारमा सरकारले विशेष पहल गरेको जानकारी गराए ।

    निःशुल्क टिकट र निःशुल्क प्रवेशाज्ञालाई व्यवस्थित रुपमा अगाडि बढाउनेतर्फ सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले ठगी नियन्त्रणका लागि कडाभन्दा कडा प्रावधान सहितको नीति तथा कार्यक्रम बनाई सदनबाट नै पारित गरिने जानकारी दिए ।

    उनले अफगानिस्तान, इराक, सिरिया, लिबिया जस्ता द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने प्रक्रिया रोकिएको बताउँदै गलत धन्दा गर्ने वैदेशिक रोजगार संस्थालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।