गणतन्त्र घोषणापछिको वक्यौता बाँकी
काठमाडौं । पूर्वराजा बस्ने बालाजुस्थित नागार्जुन दरबारले १ करोड १४ लाख रुपैयाँ बिजुलीको बक्यौता तिर्न बाँकी रहेको छ ।
देशमा गणतन्त्र घोषणापछिको वक्यौता तिर्न बाँकी छ । तत्कालीन शाही बन र नागार्जुन बंगलाको गरी सो वक्यौता बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण कुलेश्वर वितरण केन्द्रका सहायक लेखापाल दिलबहादुर गिरीले बताए । उनले २५ प्रतिशत जरिवानासमेत गरी १ करोड १४ लाख रुपैयाँ पुगेको जानकारी दिए । उनका अनुसार साँवा ८५ लाख ५० हजार र २५ प्रतिशत जरिवाना २८ लाख ५० हजार रुपैयाँ छ । ४१ दिनसम्म महशुल नबुझाएपछि प्राधिकरणले २५ प्रतिशतसम्म जरिवाना लगाउने गरेको छ ।
तत्कालीन शाही बनले मात्र १९ लाख २५ हजार रुपैयाँ तिर्न बाँकी छ । वन र दरबारगरी ८ वटा मिटर जडान गरिएको छ । देशमा गणतन्त्र घोषणापछिको वक्यौता तिर्न बाँकी रहेको गिरीले जानकारी दिए । नागार्जुनमा बिजुलीको लाइन काटेको हल्ला मात्र भएको उनले बताए ।
राजतन्त्रको अन्त्यपछि सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई नागर्जुन दरबारमा बस्न दिएको थियो । सरकारको स्वामित्वको दरबार भएकाले महशुल भुक्तानी सरकारले गर्नुपर्ने हुन्छ ।
यस्तै नारायणहिटी दरबारस्थित पूर्वमुमा बडामहारानी बस्दै आएको महेन्द्र मञ्जिलले ३७ लाख भन्दा बढी बक्यौता तिर्न बाँकी भएपछि विद्युत् प्राधिकरणले लाइन काटेको थियो । मन्त्रालयले महशुल तिर्ने पत्राचार गरेपछि प्राधिकरणले लाइन जोडेको थियो ।
प्राधिकरणले लाइन काटेपछि २ हजार ५१७ ग्राहकले ९ करोड १९ लाख रुपैयाँ वक्यौता तिरेका छन् । वक्यौता तिरेपछि उनीहरुको विद्युत लाइन जोडिएको प्राधिकरणले जनाएको छ । हालसम्म प्राधिकरणले महशुल नतिर्ने ४ हजार ९ सय ग्राहकको लाइन काटेको छ । यी ग्राहकबाट २३ करोड ६६ लाख रुपैयाँ उठ्न बाँकी रहेको मध्ये आधा ग्राहकले वक्यौता तिरेका छन् । अझै २ हजार ४ सय बढी ग्राहकबाट १५ करोड रुपैयाँ उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा भदौ ३ गतेदेखि प्राधिकरणले महशुल नतिर्नेको लाइन काट्न सुरु गरेको हो
Source: http://www.baahrakhari.com//news-details/4695/2016-09-02