CanadaKhabar.com

Monday, December 15, 2025 -

स्वास्थ्य मन्त्री थापालाई डा केसीको प्रश्नः मैले उठाएका मागमा मन्त्रालयले के गरिरहेको छ ?

काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले डा गोविन्द केसीलाई भेट गरी उनको मागका र स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल गरेका छन् ।  

शुक्रबार शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा केसीलाई भेटका हुन् । भेटमा डा केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भन्ने विषयमा चासो व्यक्त गरेका थिए ।  

जवाफमा मन्त्री थापाले आफू सधैँ उनले उठाएका मागको पक्षमा रहेकाले ती माग पूरा गर्ने विषयमा सकारात्मकरुपमा काम अगाडि बढाइसकेको जानकारी गराएका थिए ।  

डा केसीले सरकारी शिक्षण संस्थाका सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने, काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म नयाँ सम्बन्धन नदिने, अधिकतम शुल्क र सिट यो वर्ष झैँ व्यवस्था गर्ने, केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्ने र त्यो मर्यादित हुने व्यवस्था गर्ने माग राख्दै आएका छन् ।  

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध तत्काल संसद्ले महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा नीति आउन नदिने तर आफ्नो पदीय अधिकार दुरुपयोग गरेर नीहित स्वार्थका लागि सो प्रतिष्ठान विधेयक पारित गर्न खोज्ने सांसदमाथि समेत कानुनी प्रक्रिया बमोजिम छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग राख्दै आठपटकसम्म अनशन बसिसकेका छन् । 

हाल सडकबाट आफ्ना माग पूरा गर्नुपर्ने भन्दै सङ्घर्ष थालेका केसीले माग पूरा नभए नवौँ पटक आमरण अनशन बस्ने चेतावनी यसअघि नै दिइसकेका छन् । रासस 

Source: http://www.baahrakhari.com//news-details/4705/2016-09-02