CanadaKhabar.com

Wednesday, December 25, 2024 -
  • महिला हिंसाका घटना बढ्दै, उजुरी घट्दै

    ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुर, महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका उजुरी दर्तामा अघिल्लो वर्षभन्दा कमी आएको छ । आव २०७२/७३  मा अघिल्लो वर्षभन्दा झन्डै एक सय कम उजुरी दर्ता भए । पहिले प्रहरीकहाँ गएर मात्रै घटना अदालतमा जाने भए पनि अहिले सोझै अदालतमा जाने प्रवृत्ति बढ्दा उजुरी कम परेको प्रहरीको जिकिर छ ।

    अधिकारकर्मीले भने महिला हिंसाका घटना बढिरहे पनि यस क्षेत्रमा काम गर्ने संस्थाहरु महिलाका मुद्दामा काम गर्न कम गर्दा  उजुरी कम परेको जिकिर गर्छन् । ग्रामीण क्षेत्रमा अधिकांश समयमा विभिन्न संस्थाका सहयोगमा महिला हिंसाको घटना दर्ता हुने गरेको छ ।

    महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरी सहायक निरीक्षक लालकुमारी खड्का पीडित प्रहरीकहाँ आउनाको साटो अदालत जाने प्रवृत्ति वढेको बताउँछिन् । उनी  भन्छिन्, “सानोतिनो झगडा पर्नासाथ नै महिलाहरु सम्बन्धबिच्छेद नै गर्न चाहने गर्छन् ।” सानो घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाहरु सम्बन्धबिच्छेद गर्न हतार गर्छन् । प्रहरीले भने केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको छ । महिलाहरु अलमलमा पर्नाको साटो आवेगमा सम्बन्धबिच्छेद गर्न चाहने गर्छन् ।

    प्रहरीसम्म पर्ने उजुरीको सङ्ख्या केही कम देखिए पनि हिंसाका घटनामा कमी आएको छैन । महिलामा सशक्तीकरण बढेकाले पनि हिंसा सहन कम भएको छ । आर्थिक रुपमा सक्षम भएका कतिपय महिला एक्लै बाँच्छु भन्ने सोचाइ बढेको छ । ग्रामीण क्षेत्रका र अशिक्षित महिला पनि प्रहरीकहाँ आउँदा भने सम्बन्धबिच्छेद गर्ने नै उद्देश्यले आइपुग्छन् । प्रसनि खड्काले भनिन्, “अदालतले उजुरी पर्नासाथ सम्बन्धबिच्छेद नगर्ने भए पनि उताबाटै प्रक्रिया चाँडो हुने अधिकांशको सोचाइ छ ।”

    अधिकारकर्मी कला राई बर्सेनि हिंसाको घटना बढिरहेको बताउँछिन् । हिंसाको प्रकृति बदलिए पनि घटनामा कमी आउन सकेको छैन । भूकम्पपछि महिला हिंसाका घटना अझै बढेको छ ।

    नेपालमा महिला हिंसाका अधिकांश घटना गैरसरकारी संस्था मार्फत नै प्रहरीसम्म पुग्ने अधिकारकर्मी राई बताउँछिन् । भूकम्पपछि धेरै संस्थाहरु भुकम्पकेन्द्रित भएका छन् । महिलाका क्षेत्रमा कार्यरत संस्था महिला हिंसाको साटो भुकम्पमा केन्द्रित छन् । आव २०७२/७३ मा छ सय ४१ मुद्दा दर्ता भएका थिए । सबैभन्दा बढी घरेलु हिंसामा दुई सय २८ घटना दर्ता भएको थियो । आव २०७१/७२ मा सात सय ३५ उजुरी दर्ता भएका थिए । आव २०७०/७१ मा छ सय ५० उजुरी प्रहरीकहाँ दर्ता भएको थियो । आव २०६९/७० मा तीन सय ७८  र २०६८÷६९ मा तीन सय ६८ उजुरी प्रहरीमा दर्ता भएको थियो । 

    रासस

    Source: http://www.baahrakhari.com//news-details/4784/2016-09-04