- बाह्रखरी
- २०७३ भदौ १९ आइतबार १२:१४:२०
काठमाडौँ । नेपाली क्रिकेट विवाद समाधानको लागि छुट्टै एक कमिटी बन्ने भएको छ । अन्तरार्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र सरकारबीच आइतबार भएको छलफलमा नेपाली क्रिकेटको समस्या समाधानका लागि नयाँ कमिटीको अवधारणाबाट अघि बढ्ने बारेमा छलफल भएको थियो ।
शनिबार नेपाल आइपुगेका आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईली, राखेपका सदस्यसचिव केशवकुमार विष्ट लगायतसँग छलफल गरेको थियो । उक्त छलफलमा नेपाली क्रिकेटको विवाद समाधानका लागि नयाँ कमिटी बनाएर अघि बढ्न सरकार र आईसीसी सहमत भएका हुन् ।
नेपाली क्रिकेट समाधानको लागि बन्ने कमिटीमा ५ देखि ७ जना सदस्य रहने छ । तर, त्यस कमिटीमा संयोजक नतोकिने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । उनको अनुसार कमिटिको नाम टुंगो लागेको छैन ।
“आज प्रधानमन्त्री, खेलकुदमन्त्री, सदस्यसचिव लगायतसँग आईसीसी प्रतिनिधिले भेट गरेका छन्,”सदस्य सचिवका प्रेस सल्लाहकार दाहालले भने,“उक्त भेटमा क्यानमा देखिएको विवाद समाधान गर्न नयाँ कमिटि बनाएर अघि बढ्न सहमत भएका छन् । कमिटिको नाम के रहने भन्ने अहिलेसम्म जानकारीमा आएको छैन ।”
कमिटीको नाम र सदस्यहरु आइतबार दिउसो हुने पत्रकार सम्मेलनमा सार्वजनिक गरिने भएको छ ।
त्यस्तै आईसीसीको टोलीसंगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले क्यानमा देखिएको विवाद र आईसीसीले लगाएको प्रतिबन्धबाट दुखी भएको र विवाद समाधानका लागि जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताएको प्रेस सल्लाहकार दाहालले जानकारी दिए । क्यान विवाद समाधान गर्न र नयाँ कमिटि बनाउन आईसीसीका कार्यकारी प्रमुख डेभिड रिचर्डसन, एसोसिएट्स हेर्ने कमिटिका प्रमुख इमरान खार्जुआ तथा आइसिसीका दक्षिण एसियाली डेभलपमेण्ट अफिसर अमर शेखसहितको टोली शनिबार नेपाल आएको हो ।
क्यानमा राजनीतिक हस्तक्क्षेप भएको भन्दै आईसीसीले गत वैशाख १३ मा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि नेपाली क्रिकेट आईसीसीले चलाउदै आएको छ । र,अब बन्ने कमिटीले नेपाली क्रिकेट चलाउने छन् ।
Source: http://www.baahrakhari.com//news-details/4789/2016-09-04