CanadaKhabar.com

Wednesday, December 25, 2024 -
  • छुटेका भूकम्प पीडितको नाम संकलन गर्न निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका भूकम्प पीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताएका छन् । 

    आज विहान सिन्धुपाल्चोकका सांसदहरुको सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितको सूचिमा छुट भएका बास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराए । प्रधानमन्त्रीले आफू जुरेको पहिरोदेखि नै पीडितहरुलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक पटक गएको र सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रुपमा लागिरहेको वताउँदै भूकम्प पीडितलाई तत्काल १ लाख रुपैया थपेर ३ लाख रुपैयाँ अनुदान दिने र २ लाख सहुलियत ऋण गरी ५ लाख उपलब्ध गराउन प्रक्रिया अघि बढेको जानकारी गराए । प्रधानमन्त्रीले अरनीको राजमार्ग मर्मत् र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको बताए । 

    सिन्धुपाल्चोकका सांसदहरु  पूर्वमन्त्रीद्धय  अमृत बोहरा र अग्निप्रसाद सापकोटा, सांसदहरु मोहनवहादुर बस्नेत, शेरवहादुर तामाङ र रमेश लामा संलग्न प्रतिनिधि मण्डलले छुट भएका पीडितको नाम समावेश, भुकम्प र बाढी पहिरो पीडितलाई राहत, अरनीको राजमार्ग र तातोपानी नाका सुचारु गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।

    Source: http://www.baahrakhari.com//news-details/4793/2016-09-04