CanadaKhabar.com

Tuesday, December 24, 2024 -
  • छुटेका भूकम्पपीडितको नाम संकलन गरिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका भुकम्प पीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताएका छन् ।

    आइतबार विहान सिन्धुपाल्चोकका सांसदहरूको सर्वपक्षीय प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितको सूचिमा छुट भएका वास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराए । प्रधानमन्त्रीले आफू जुरेको पहिरोदेखि नै पीडितहरूलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक–पटक गएको र सिन्धुपाल्चोक लगायत भुकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रुपमा लागिरहेको वताउँदै भुकम्प पीडितलाई तत्काल १ लाख रुपैया थपेर ३ लाख रुपैया अनुदान दिने र २ लाख सहुलियत ऋण गरी ५ लाख उपलब्ध गराउन प्रक्रिया अघि बढेको जानकारी गराए ।

    त्यस्तै प्रधानमन्त्रीले अरनीको राजमार्ग मर्मत् र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको जानकारी दिए । 

    सिन्धुपाल्चोकका सभासदहरू पूर्वमन्त्री अमृत बोहरा, पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरवहादुर तामाङ र रमेश लामा संलग्न प्रतिनिधि मण्डलले छुट भएका भूकम्पपीडितको नाम समावेश, भूकम्प र बाढी पहिरो पीडितलाई राहत, अरनीको राजमार्ग र तातोपानी नाका सुचारु गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।

     

    Source: http://www.baahrakhari.com//news-details/4805/2016-09-04