- बाह्रखरी
- २०७३ भदौ १९ आइतबार १४:४७:१२
काठमाडौं । राजधानीको सुन्धारास्थित थाहा टोलमा ब्रान्डेड फेसन सामानहरु बिक्री गर्ने सस्तो बजार खुल्ने भएको छ । धरहराको पछाडि थाहा टोलमा दुई रोपनी जग्गामा सस्तो फेसन बजार खोल्न लागिएको हो ।
असोज पहिलो सातासम्ममा फेसन बजार सञ्चालनमा ल्याउने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए । उनका अनुसार ग्राहकलाई एउटै छानामुनि सस्तो मूल्यमा फेसनका सामान उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक सस्तो बजारको अवधारणा ल्याइएको हो । सुलभ दरमा सटरपनि उपलब्ध गराइने उनले बताए । “हामी मध्यम आकारको सटर १२ देखि १६ हजार रुपैयाँमै उपलब्ध गराउँदैछौं,” उनले भने । ‘धेरै बेच्ने, सस्तोमा बेच्ने र ब्रान्डेड सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको उनले बताए । बाहिरको मूल्यभन्दा ३० देखि ४० प्रतिशतसम्म सस्तोमा ब्रान्डेड सामान बिक्री गर्ने उनको दाबी छ । उनका अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँ खर्च भएको छ । बजारमा ४० वटा सटर रहनेछन्, जहाँ एक सटरमा एउटामात्रै आइटम राख्न पाइनेछ ।
बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड सामान उपलब्ध हुनेछन् । बजारभित्र चस्मा, जुत्ता, लेहेँगा, साडी, फेन्सी, अन्डरगार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहनेछ । बजारमा सयवटा मोटरसाइकल र आधा दर्जनजति गाडी पार्किङ गर्न सकिनेछ ।
Source: http://www.baahrakhari.com//news-details/4813/2016-09-04