CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • तरुण दलको महाधिवेशन असोज पहिलो साता, अध्यक्षमा ११ जनाको दाबी

    काठमाडौं । दुई पार्टी एकीकरण भएको ९ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन पुनः दुई साताका लागि सर्ने भएको छ । ७५ वटै जिल्लाको अधिवेशन नसकिएकाले महाधिवेशनको मिति सार्न लागिएको महाधिवेशन गराउन बनेको निर्देशन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए । 

    निर्देशन समितिको आइतबारको बैठकले असोज पहिलो साता हुने गरी महाधिवेशनको समय सार्ने उनले बताए । तरुण दलको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीलाई महाधिवेशनको मिति सिफारिस गर्नेछ । 

    तरुण दलको शनिबारसम्ममा ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । यसमध्ये ६१ जिल्लाको परिणाम आइसकेको छ । दुई हप्ताभित्र बाँकी जिल्लाको पनि अधिवेशन सकिने तरुण दल कार्यालय सचिव थानप्रसाद पोखरेलले जानकारी दिए । धादिङ, रुकुम र बाँकेको अधिवेशनलाई पार्टी नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ । उनी निकट एक नेताले भने, “संस्थापन पक्षले धाँधली गरेर निर्वाचन गराएको छ । निर्देशन समितिले छानबिन गरेर कुरा मिलाउनुपर्छ ।”

    यसैबीच तरुण दलको महाधिवेशनमा अध्यक्षका ११ प्रतिस्पर्धी देखिएका छन् । पार्टी संस्थापन पक्षबाट अध्यक्षका ४ जना  प्रतिस्पर्धी देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ७ जना आकांक्षी देखिएका छन् । तरुण दलको हालको तदर्थ कमिटीबाट दुवै पक्षका गरेर ५ जनाले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । कमिटीभित्रबाट पौडेल पक्षका लक्ष्मी खतिवडा, टेकराज पौडेल, मेदिनी सिटौला र नारायण भट्टराई छन् भने संस्थापनबाट जन्मजय तिमल्सिना छन् । पौडेल पक्षकी खतिवडालाई पार्टी महामन्त्री शशांक कोइरालाले समर्थन गरेका छन् । खतिवडा अहिलेसम्म अध्यक्षको पहिलो महिला प्रतिस्पिर्धीको रूपमा देखिएकी छन् । टेकराजलाई रामशरण महतको समर्थन छ । त्यस्तै, मेदिनी र नारायण दुवैलाई कृष्णप्रसाद सिटौलाले समर्थन गरेको बताइएको छ । यसैगरी, तदर्थ कमिटीबाट उम्मेदवारी दिने बताएका जन्मजय बालकृष्ण खाँण निकट मानिन्छन् । 

    पौडेल पक्षबाट अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका दामोदर कोइरालालाई पार्टी केन्द्रीय सदस्य शेखर कोइरालाको समर्थन छ । तर, भर्खरै सम्पन्न नेपाल विद्यार्थी संघको महाधिवेशनमा अध्यक्षमा आनन्दराज त्रिपाठीलाई उठाएर गैरसंस्थापन पक्षका मनोजमणि आचार्यलाई हराएको भन्दै उनको आलोचना भएको स्रोतले बतायो । यसैगरी याम गुरुङ र उत्तम चापागाईंलाई अहिलेसम्म कुनै नेताको समर्थन देखिएको छैन । गुरुङ पहिले देउवा पक्षका थिए । 

    संस्थापन पक्षबाट तदर्थ कमिटीभन्दा बाहिरबाट पदम पालुङले उम्मेदवारी दिँदैछन् । पालुङलाई नेता ज्ञानेन्द्रबहादुर कार्कीको समर्थन छ । अध्यक्षका अर्का प्रत्यासी नागेश्वर यादवलाई उपप्रधान तथा गृहमन्त्री तथा केन्द्रीय सदस्य विमलेन्द्र निधिको समर्थन छ । अध्यक्षका अर्का आकांक्षी निरन्जन केसी भने पूर्णबहादुर खड्काका भान्जा हुन् । विद्यार्थी संघका पूर्वउपाध्यक्ष भुपेन्द्रजंग शाहीले पनि तरुण दलको अध्यक्षमा उठ्ने बताएका छन् ।

     

    Source: http://www.baahrakhari.com//news-details/4820/2016-09-04