अनुप सुबेदी / क्यानाडाखबर
अटोवा,क्यानाडा ।
क्यानाडाको राजधानी अटोवा स्थित प्रबासी नेपालीहरुको संगठन नेपलिज क्यानडियन एशोसीएशन अफ अटोवाले (NCAO) सधैका वर्षझैँ यस वर्ष पनि दशैं कार्यक्रम भब्य रुपले सम्पन्न गर्यो। करिब ३०० को हाराहारीमा उपस्थिति रहेको सो कार्यक्रम यहाँ बस्ने नेपालीहरुको सबैभन्दा ठुलो जमघट मान्न सकिन्छ । ब्रिटानिया पार्क स्थित रोन कोल्बस लेकसाइड सेन्टरमा सम्पन्न भएको सो कार्यक्रम नेपाली पाठशालाका साना साना भाइबहिनीहरुको नेपाली र क्यानाडियन राष्ट्रिय गानबाट सुरु भएको थियो ।

साँझ ७ बजे शुरु भएको कार्यक्रममा नेपाली राजदुताबास क्यानाडाको तर्फबाट दुताबासका उप प्रमुख दिलिप पौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। साथै नेपलिज क्यानडियन एशोसीएशन अफ अटोवाका अध्यक्ष कृष्णहरि गौतमले पनि स्वागत तथा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम रहेको थियो। अन्य संस्कृतिक कार्यक्रम बाहेक अटवा नाटक कम्पनीले “रामायण-रिलोडेड” नामक लघु नाटक तथा अटवामा बिगत केहि बर्ष देखि नेपाली संकृतिक कार्यक्रम संचालन गर्दै आएको रोधी ब्लुज ब्याण्डले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

साथै कार्यक्रममा बिगत १५ बर्ष देखि प्रकाशित हुँदै आएको ‘अटवा चौतारी’ बर्ष १५ अंक ३१ को बिमोचन सहभागीमध्यका जेष्ठ नन्दलाल कोइरालाद्वारा गराइएको थियो । औपचारिक कार्यक्रमको अन्त्य पछि मध्यरात पछि सम्म पनि कार्यक्रमका सहभागीहरु बिबिध नेपाली गीत तथा संगीतमा नाचगान गरेका थिए ।




