CanadaKhabar.com

Friday, May 3, 2024 -
  • अन्तरक्रिया कार्यक्रमका साथ क्यालगरीमा गैर-आवासीय नेपाली दिवस सम्पन्न

    क्यालगरी,क्यानाडा

    यही अक्टोबर २२, सनिबारका दिन क्यानाडाको क्यालगरी सहरमा स्थानीय संघसंस्थाका प्रतिनिधि र एन आर एन का सदस्यहरू वीच अन्तरक्रिया गरी १३ औं गैरआवासीय नेपाली दिवस मनाइयो । एन आर एन क्यानाडाका अल्बर्टा संयोजक नारायण पोखरेलको सभापतित्व र एन आर एन क्यानाडाको पुर्व समन्वय समिति सदस्य ऋषि बस्ताकोटीको सहजीकरणमा संचालित अन्तरक्रियामा स्थानीय संघसंस्थाहरुकातर्फबाट नेकासे एडमन्टनका नवराज अधिकारी, एनसीएससी क्यालगरीका माधव दुलाल , सीएनसीए क्यालगरीका हरिवोल शर्मा लगायतले एन एर एन लाइ शुभकामना दिंदै स्थानीय स्तरमा एन आर एन संगको सहकार्यलाई निरन्तरता दिने र भावी दिनमा गैर आवासीय नेपालीको हित र एन आर एन संस्थाको पहिचानलाई आफ्नो समुदायमा बढाउनको लागि संस्थाको तर्फबाट पहल गर्ने बताए ।

    calgary-dashain1

    अन्तरक्रियामा उपस्थित सहभागीहरुले आ-आफ्नो राय राख्दै एन एर एनलाई सुझाव तथा प्रश्नहरू राखेका थिए । छलफल मुख्य गरी दोहोरो नागरिकताको सवाल, प्रवासमा नेपालीको हकहित र एकता , एन एर एन को सदस्यता विस्तार र “भिजिबिलिटी”, क्यानाडामा नेपालको प्रवर्धन, नेपालको विकासमा प्रवासीको भूमिका , नेपाल-क्यानाडा द्विपक्षीय हितमा एन आर एन र नेपाली दुताबासको रणनैतिक भूमिका आदि विषयमा केन्द्रित थियो । सभागीहरूले एन आर एन क्यानाडालाई स्थान , दल र गुट भन्दा माथि उठेर क्यानडाबासी नेपाली सबैको साझा संस्थाको रुपमा अझै विकास गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा उठेका सवालहरूको एन आर एन क्यानाडाका सल्लाहकार राजेन्द्र प्रसाई, अल्बर्टा संयोजक नारायण पोखरेल, पुर्व पदाधिकारीहरू बिष्णु सुब्बा, प्रसन्नमान श्रेष्ठ लगायतले उत्तर दिएका थिए ।

    calgary-dashain

    अल्बर्टा संयोजक तथा कार्यक्रमका सभापति नारायण पोखरेलले एन आर एन क्यानाडाका भावी कार्यक्रम तथा रणनीति र तिनलाई सफल कार्यान्वनका लागि स्थानीय संघसंस्थाको भूमिका बारे प्रकाश पारेका थिए । कार्यक्रममा एन आर एन क्यानाडाका अध्यक्ष तुल्सी सापकोटाले कन्फेरेन्स कल मार्फत शुभकामना दिएका थिए । एन आर एन क्यानाडाका सदस्य बिभु ओझाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राजेन्द्र गौतमले सहभागी सबैलाई उपस्थिति र सक्रिय सहभागिताको लागि धन्यवाद दिएका थिए ।