CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • प्रदेश विखण्डनको बिरोधमा अर्घाखाँची ४ दिन देखी ठप्प, सदरमुकाममा प्रदर्शन

    शोभाखर पन्थी
    अर्घाखाँची मंसिर १८   । 
    पाँच नम्बर प्रदेश विखण्डनको बिरोधमा शनिबार अर्घाखाँचीमा बिरोध जुलुस निकालिएको छ । सन्धिखर्कको शान्ति वगैंचाबाट सुरु भएको बिरोध प्रदर्शन बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । बिरोध जुलुसमा गाउँ गाउँबाट मानिसहरु सदरमुकाम आएका थिए । सभालाई नेपाली कांग्रेसका सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापा, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीले सम्वोधन गरेका थिए ।

    butwal-birodha

    संविधान संशोधन विद्येयक व्यवस्थापिका संसदमा दर्ता भएको भोली पल्ट ( बुधबार ) देखि जिल्ला पूर्ण रुपमा ठप्प भएको छ । बन्दका कारण पसल, उद्योग, कलकारखना, सवारी साधन, शिक्षण संस्था बन्द भएका छन् । बन्दका कारण निजि विद्यालयले सञ्चालन गर्न लागेको परिक्षा समेत स्थगित गरिएको छ । संशोधन विधेयक दर्ता नगर्दै चर्को बिरोधमा उठेका  जिल्लाबासी विधेयक दर्ता गरेपछि झनै आक्रोशत रुपमा आन्दोलनमा उत्रिएका छन् ।

    butwal-birosh-at-arghakhachi

    संघर्ष समितिले आइतबार पनि जिल्ला बन्दको घोषणा गरेको छ । सोमबार जिल्लामा बिशाल प्रदर्शन हुने कार्यक्रम तय भएको छ । उक्त सभामा दश हजार भन्दा धेरै जनसहभागिता गराउने गरि तयारीमा लागेको संघर्ष समितिले जनाएको छ । सभामा एमाले उपमहासचिव  विष्णु पौडेल, नेकपा माओवादी केन्द्र संसदिय दलका उपनेता तथा अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोपबहादुर रायमाझी, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई निमन्त्रणा गरिएको संघर्ष समितिका संयोजक मुस्कानले जानकारी दिए ।