CanadaKhabar.com

Friday, May 17, 2024 -
  • प्रचण्डलाई चित्रहादुरको सुझाव: आफ्नो बुद्धिले जोगी बन्नू, अर्काको बुद्धिले राजा नबन्नू

    २८ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले अर्काको बुद्धिमा लाग्दा प्रचण्ड प्रधानमन्त्री बनेको त्यो उनैलाई गलापासो बनेको आरोप लगाएका छन् ।

    संयुक्त विद्यार्थी संगठनले मंगलबार राजधानीमा आयोजना गरेको ‘सडक-बहस’मा बोल्दै केसीले भारतको बुद्धिमा लागेर प्रधानमन्त्री बनेका प्रचण्डलाई त्यही गला लागेर निल्नु न ओकल्नु भएको आरोप लगाए ।

    केसीले भने-‘अघिल्लो सरकारका पालामा मालदार र कमाउ मन्त्रालय माओवादीले नै लिएका थिए । तर ‘आफनो बुद्धिले जोगी बन्नु अर्काको बुद्धिले राजा नबन्नु’ भन्ने उखान अहिले प्रचण्डमा लागू भएको छ । भारतको बुद्धिमा लागेर प्रधानमन्त्री भए, अहिले वाक्नु न निल्नु भएको छ ।’

    संविधान संशोधनका नाममा तराई-पहाडबाट छुट्याएर काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाग टुक्र्याउन भारत लागि परेको समेत केसीको आरोप थियो । ‘हिजो जसो-तसो गरेर २ नम्बर प्रदेश पहाडबाट अलग गरे, अहिले ५ नम्बर प्रदेश अलग गर्ने प्रस्ताव दर्ता भएको छ,’ केसीले भने, ‘यसका विरुद्ध जनता सडकमा ओर्लिसकेका छन्, यो पास हुन सक्तैन ।’

    ‘छोरी र बहिनी दिएर नाता जोड्न सकिन्छ, तर आमा नै दिएर कसैसँग नाता जोड्न नसकिने भन्दै पूर्वउपप्रधानमन्त्री केसीले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरे ।

    मन्त्रीले राष्ट्रघात देख्न छोडे: लालबाबु पण्डित

    एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारमा रहेका मन्त्रीहरुले राष्ट्रघात नै देख्न छोडेको बताएका छन । पण्डितले भने ‘सरकारका गृहमन्त्री विमलेन्द्र निधीले भनेको सुनें, राष्ट्रघात भन्ने शब्द नै हुँदैन, भारतका नेता कपिलले स्ट्याटस लेखेका छन् सन् २०२४ सम्म नेपाल भारतको प्रान्त हुनेछ, अहिले कतिपय नेपालका मन्त्रीहरुले राष्ट्रघात देख्न छोडेका छन् ।’

    सामान्य प्रशासन मन्त्री हुँदा डीभी पीआरको विरोध गरेका एमाले नेता पण्डितले नागरिकताको प्रशंग निकाल्दै भने, ‘नेपालको पनि नागरिकता बोक्ने, भारतको पनि नागरिकता बोक्ने, अष्ट्रेलियाको पनि बोक्ने, अमेरिकाको पनि बोक्ने, अनि वीर नेपाली भन्ने ? यस्तो नेपालीबाट देशको रक्षा हुन सक्तैन ।’

    पूर्वमन्त्री पण्डितको प्रश्न थियो- ‘कतै झण्डा हल्लाउनेहरुले नै दुई देशको नागरिकता त बोक्नुभएको त छैन ? सन् २०२४ लाई पर्खेर बस्नुभएको त छैन ?’

    नयाँ बानेश्वरमा मंगलबार संयुक्त विद्यार्थी संगठनका तर्फबाट सडक बहसको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ठूला नेताका रुपमा चित्रबहादुर केसी र लालबाबु पण्डित निम्त्याएका थिए ।

    कार्यक्रमको आयोजना एमाले, नेमकिपा, माले, जनमोर्चा लगायतका पार्टीका भातृ संगठनहरुले आयोजना गरेका थिए ।