CanadaKhabar.com

Wednesday, January 8, 2025 -
  • मुखर्जि बिदा,क्रिसमस बिदा,पृथ्वीजयन्ती अलबिदा

     क्यानाडाखबर डेस्क  ।
    पुस २६ को बेलुकासम्म आम नेपालीहरुलाई लागेको थियो की, सरकारले नेपालको एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनमा विदाको घोषणा गर्नेछ । तर, मंगलबार साँझसम्म पनि सरकारले कुनै सुचना जारी नगरेपछी अबदेखी पौष २७ मा सरकारी विदा नहुने निश्चित भएको छ ।राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीमा विदा नदिने यही सरकारले क्रिसमस डेमा भने राष्ट्रिय विदा दिएको थियो । त्यो पनि क्रिसमसको अघिल्लो दिन साँझ गृहमन्त्रीको एकल निर्णयमा । क्रिसमस बिदाको निर्णयका लागी न त क्याविनेट बसेको थियो न त क्यालेण्डरमा विदा उल्लेख गरिएको थियो ।

    क्रिसमस डेमा दबाव दिएको भरमा सार्वजनिक विदा दिने सरकारले पृथ्वीजयन्तीमा सार्वजनिक विदा नदिएर यो देशको निर्माणकर्ता प्रति तिरस्कारपुर्ण व्यवहार गरेको छ । एउटा समुदायलाई खुशी पार्न विदा दिन सक्ने सरकारले राष्ट्रिय एकताका प्रतिकलाई अबहेलना गर्नु दुखद; कुरा भएको भन्दै चौतर्फी आलोचना भएको छ ।

    आम नेपालीहरुले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीकको रुपमा लिने गरेका छन र सो दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने आवाज उठ्दै आएको छ । पृथ्वी जयन्तीका अवसरमा आज देशभर भएका कार्यक्रममा पृथ्वी जयन्तीलाई राष्ट्रिय उत्सवमा रुपमा मनाउनुपर्ने माग उठेका छन ।

    प्रधानमन्त्री प्रचण्डले मंगलबार चितवनमा भाषण गर्दै पृथ्वीनारायणको खब प्रसंशा गरे र पृथ्वीजयन्तीमा सरकारी विदा दिनेबारे आफू सकारात्मक रहेको पनि बताए । तैपनि विदा घोषणा गर्न आफूले मात्रै नसक्ने र यसका लागि सहमति हुनुपर्ने भन्दै मुलुकको कार्यकारी अधिकार प्रयोग गर्ने प्रधानमन्त्रीले लाचारी प्रकट गरे ।

    पृथ्वी जयन्तीमा सरकारी विदा दिन आफू सकारात्मक रहे पनि निर्णय गर्न नसक्ने प्रधानमन्त्रीको घोषणा अनौठो छ । क्रिसमसमा सरकारी विदा दिन गृहन्त्रालयले नै रातारात वक्तव्य निकाल्न सक्ने तर पृथ्वी जयन्तीमा प्रधानमन्त्रीले नै चाहेर पनि विदा दिन नसक्ने अभिव्यक्ति आउनुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

    यसबारे गृहमन्त्रालय स्रोत भन्छ–‘प्रधानमन्त्रीले चाहेको अवस्थामा विदा दिन नसक्ने भन्ने हुँदैन । क्रिसमसमा जस्तै गृहमन्त्री आफैंले चाहेको भए पनि विदा घोषणा गर्न सक्छन । तर, मंगलबार साँझसम्म गृहमन्त्रालय मौन बसेकाले अब बुधबार सरकारी विदा घोषणा हुने सम्भावना लगभग टरेको छ ।’

    भारतीय राष्ट्रपति आउँदा विदा घोषणा गर्ने, क्रिसमसमा विदा दिने प्रचण्ड सरकारले पृथ्वी जयन्तीमा किन विदा दिएन भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ । पृथ्वीनारायण शाहको सम्झनामा प्रत्येक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने प्रचलन रहँदै आएकोमा गणतन्त्र आएपछि सरकारले विदा दिने प्रचलन हटाएको हो ।

    गणतन्त्रमा राजा महाराजका नाममा विदा दिने प्रचलन अनुपयुक्त भएकाले विदा कटौती गरिएको सरकारी पक्षको तर्क छ । अर्कोतर्फ कतिपय मधेसी, आदिवासी–जनजाति समूहको प्रतिनिधित्व गर्ने दलका नेता तथा कार्यकर्ताहरु पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमै स्वीकार्न हिच्किचाउँछन् ।

    उनीहरु पृथ्वीनारायणले बलपूर्वक खस राज्यको स्थापना गरेको र अन्य जातिलाई दमन गरेको हुनाले उनलाई राष्ट्र निर्माता हैन कि साम्राज्यवादी एवं दमनकारी व्यक्तिका रुपमा लिने गर्छन् । मधेसमा पनि विखण्डनकारी सिके राउतले यस्तो विचार राख्छन र, कतिपय मधेसी मोर्चाका नेताहरु पनि सिके राउतकै विचारलाई अन्धसमर्थन गर्दै पृथ्वीनारायणको निन्दा गर्ने गर्छन् ।

    त्यसो त केही मानिसहरुको तर्क के पनि छ भने पृथ्वीनारायण शाह राष्ट्र निर्माता नै हुन । उनलाई सम्मान पनि गर्नुपर्छ र राष्ट्रले सम्झनु पनि पर्छ । तर, यसका लागि सरकारी विदा नै हुनुपर्छ भन्ने होईन । बरु अन्य अनावश्यक विदाहरुसमेत कटौती गर्ने बाटो अपनाउनुपर्छ भनेर अभिमत राख्नेहरु पनि पाइएका छन् ।