CanadaKhabar.com

Tuesday, May 21, 2024 -
  • प्रधानमन्त्रीको आदेश विपरीत कसरी चल्यो गोली ?

    माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजबिराज गोलीकाण्ड प्रधानमन्त्रीले गोली नचलाउनु भन्दाभन्दै भएको खुलासा गरेका छन । नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो खुलासा गरेका हुन ।

    श्रेष्ठले ट्वीटरमा लेखेका छन–‘सप्तरीमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको खबरले दुःखी छु । प्रधानमन्त्रीको गोली नचलाउने निर्देशन विपरित कसरी यस्तो चल्यो ? सबैले संयम्ता अपनाऔँ ।’

    राजनीतिमा हठ कति खतरनाक हुन्छ भन्ने ज्वलन्त उदाहरण राजबिराज गोलीकाण्ड बनेको छ । प्रधानमन्त्रीले गोली नचलाउनु भन्दाभन्दै कसले गोली चलायो त ? यसबारे सरकारी अधिकारीहरुबाटै गैर जिम्मेवारपुर्ण भनाइहरु आउन थालेका छन् ।

    सम्भावित झडपलाई पुर्व आँकलन गर्दै प्रधानमन्त्री दाहालले निमित्त प्रहरी महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेललाई पहिले नै मोर्चाका कार्यकर्ता माथि गोली नचलाउनु भनेका थिए । प्रधानमन्त्री दहालले यसबारे गृहमन्त्रीसँग समेत परामर्श गरेका थिए ।

    उता नेपाल प्रहरीको नेतृत्वकर्ता गृहमन्त्री विमलेन्द्र निधी स्वयं मधेसी जनताप्रति सहानुभूति राख्ने नेता हुन् । उनी आफैं पनि मधेसकै बासिन्दा भएकाले मधेसी जनताप्रति बल प्रयोग गर्नुपर्ने पक्षमा गृहमन्त्री स्वयं पनि थिएनन् ।

    राजविराजमा एमालेको जनसभा बिथोल्न पुगेका मोर्चाका कार्यकर्तालाई प्रहरीले खेतमा नै रोकेर राखेको थियो । सुरुमा प्रहरीले सामान्य लाठीचार्ज मात्रै गरेको थियो । त्यसपछि पनि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भीडलाई तितरवितर पारिरिरहेकै थियो ।

    जब केपी ओलीले भाषण गर्न थाले, मोर्चाका कार्यकर्ताहरु उत्तेजित हुँदै प्रहरीको घेरा तोड्ने प्रयास गर्न थाले । मोर्चाका कार्यकर्ताको उग्रता बढेपछि फिल्डमा खटिएका सुरक्षाकर्मी आत्तिए । गोली चलाउनका लागि प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयको आदेश पर्खनुपर्थ्यो ।

    यति हुँदासम्म मोर्चाका कार्यकर्ताहरुले एमालेका नेता–कार्यकर्ता चढेका गाडी रोकिएका ठाउँमा गएर तोडफोड गर्न थालिसकेका थिए । एउटा मोटरसाइकलमा आगजनी भयो । बिगतमा गौर काण्डबाट तर्सिएका सुरक्षाकर्मी मोर्चाको यस्तो बितण्डाबाट आत्तिनु स्वभाविकै थियो ।

    यो स्थितिमा तत्कालै केही नगरे उग्र भीड कार्यक्रमस्थलमै प्रवेश गर्ने र विगतको गौरको जस्तै घटना दोहोरीने देखेपछि स्थानीय प्रशासनले गृहसँग गोली चलाउने अनुमति माग्यो । गृहले पनि घँडामुनि गोली चलाउन आदेश दिएको बुझिएको छ ।

    यता गृह मन्त्रालयका अधिकारीहरुले भने राजविराज घटनामा प्रमुख जिल्ला अधिकारीले आवश्यकता भन्दा बढी बल प्रयोग गर्न निर्देशन दिएको भन्दै आफू पानी माथिको ओभानो बन्ने प्रयास गरेका छन् । घटनाको दोष अर्कातिर देखाएर प्रहरी हेडक्वार्टर, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेत गैरजिम्मेवार बन्न खोजेको गुनासो फिल्डमा खटिएका सुरक्षाअधिकारीहरुको छ ।

    कतिपयले त सप्तरीका प्रमुख जिल्ला अधिकारीसमेत एमाले निकट रहेको आरोपसम्म लगाउन थालेका छन् । उता नेकपा एमालेले चाहिँ राजविराज घटनालाई एमालेमाथिको गम्भीर षड्यन्त्र भनेको छ । एमाले प्रचार विभागका नेता बिष्णु रिजालले एमालेले हदैसम्म संयमता अपनाउँदा पनि घटना घटेको बताएका छन ।

    रिजालले भने–‘हामीले स्थिती सहज होस भनेर राजविराजको कार्यक्रमस्थल पनि परिवर्तन गर्यौं, हनुमाननगरको र्यालीको रुट परिवर्तन गर्यौं, नेताहरुको अभिव्यक्तिमा पनि अति नै संयमता अपनायौँ तर, हामीले पूर्वनिर्धारीत कार्यक्रम नै गर्न नपाउने भन्न खोजियो, जुन सम्भव थिएन ।’

    यता प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर सीडीओ उद्धवप्रसाद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाउन भनेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले जनाए अनुसार उनीहरुलाई फिर्ता बोलाइएको नभई राजविराज घटनाबारे जानकारी लिन बोलाइएको हो ।