CanadaKhabar.com

Tuesday, May 21, 2024 -
  • सप्तरी घटनाको विरोधमा भोलि नेपाल बन्द

    काठमाण्डौ २६, फागुन । सप्तरी घटनाको विरोधमा भोलि शुक्रबार एक दिनका लागि नेपाल बन्द आह्वान गरिएको छ । घटनाको न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग राखेर नेपाल बन्द घोषणा गरिएको हो ।

    बल प्रयोग गर्नै नपर्ने ठाउँमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको, सप्तरी घटनामा नेकपा एमाले र सरकार गैर जिम्मेबार बनेको आरोप लगाउँदै २८ दलीय संघीय गठबन्धनले दबाबका लागि नेपाल बन्दको आह्वान गरेको छ ।

    नेपाल बन्द सफल बनाउन गठबन्धनले सहकर्मी दल र मोर्चाहरुलाई कडाईका साथ बिहानैदेखि काठमाडौंको दुई दर्जन स्थानमा खटाएको छ । देशव्यापी जिल्लाहरुमा पनि बन्द सफल बनाउन गठबन्धनले मातहतका दल र मोर्चाहरुलाई कडा निर्देशन जारी गरेको छ ।

    सप्तरीको मलेठमा सशस्त्र प्रहरीले चलाएको गोलि लागि चार जनाको मृत्यु र दर्जनौं गम्भीर घाइते भएपछि आक्रोशित बनेको संघीय गठबन्धनले सप्तरी घटनाको उच्चस्तरिय न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल बन्द आह्वान गरिएको गठबन्धनले जनाएको छ ।

    सप्तरीमा भएको हत्याकाण्डको न्याय प्राप्ति र उत्पीडित समुदायहरुको समान अधिकार प्राप्तिको निम्ति भोलि फागुन २७ गते घोषणा गरिएको नेपाल बन्दको कार्यक्रमलाई सहयोग गर्नु हुन यातायात व्यवसायी, शैक्षिक संस्थाहरु, व्यापारी व्यवसायी तथा सम्बन्धित सबैलाई गठबन्धनले अपिल गरेको छ ।