CanadaKhabar.com

Thursday, May 2, 2024 -
  • क्यालगरीमा जुट्दै नेपाली

    प्रकाश क्ष्रेत्री – क्यानाडाखबर क्यालगरी ब्युरो 

    समरको आगमनसंगै क्यालगरीमा बस्ने नेपालीहरुको चहलपहल बढ्न थालेको छ । चिसोको कारणले बन्द कोठामा गरिने कार्यक्रमहरु विस्तारै खुला आकासमुनि हुन थालेका छन । हिजो एनसिएससी क्यालगरिले आयोजना गरेको अभिभावक मिलन कार्यक्रममा यहि झलक देखिन्थ्यो । नेपाल तथा दक्षिण एशियन मुलुकबाट आएका आप्रवासीहरुको बाक्लो बस्तीरहेको क्याकनाइट स्थित पेरि बेस्टविन पार्कको उद्घाटनको अवसर पारि आयोजना गरिएको कार्यक्रममा नेपाली बालबालिकाका, अभिभावकका साथै थप्रै नेपालीहरुको उपस्थिती देखिन्थ्यो ।

    गोलो घेरामा आमुन्ने सामुन्ने हने गरि बसिरहेका नेपाली अभिभावकहरुलाई आफना अनुभवहरु सुनाउन पाउँदा क्यालगरीका मोती राना प्रफुल्लित देखिरहनुभएको थियो ।  सन १९९४ मा नेपालको स्याङ्जा जिल्लादेखि  क्यानाडाको टोरोन्टो हुदै क्यालगरी आउनुभएको उहाँका अनुभव सुन्न पाउँदा नेपाली अभिभावकहरु  पनि आनन्द लिइरहनुभएको थियो ।
    एनसिएससि क्यालगरिको स्थापना गर्न उहाँले गरेको योगदानको उच्च मुल्यांकन गर्दै उहाँलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो । अन्य मुलुकबाट आएका स्थानियहरु सो कार्यक्रमको दृश्य टाढाबाटै  अवलोकन गरिरहेका देखिन्थे ।

    संस्थाको नियमित कार्यक्रम अन्तर्गतको सो कार्यक्रममा अभिभावकहरुको उपश्थित देख्दा  साँच्चै नेपाली वीचको एकतालाई झल्क्याउथ्यो । कार्यक्रममा परिचय दिदै  झापा हामी निकै खुशी छौ । आफना छोराछोरी भेट्नको लागि आएका हामीलाई यसरी जमघट गरि आफनो अनुभव साटासाट गर्ने अवसर पाएकोमा धन्यवाद । संस्थाका लागि जस्तो सुकै सहयोग गर्न पनि तयार छौ ।
    नवलपरासीबाट आएर झण्डै २२ महिना आफना छोराबुहारी संग क्यालगरिमा बसिरहनु भएकी चन्द्रकला तिवारीले आफु जस्तै सयौ नेपाली अभिभावकहरु नेपालबाट सन्तान भेट्न आउने तर जाडो मौषम होस या भाषाको कठिनाईले बन्द कोठामा बस्न परिरहेको अवस्थामा यस्ता कार्यक्रमले नेपालीहरु बीचमा घुलमिल हुने दुखसुख साटासाट गर्ने अवसर प्रदान गरेको बताउनुभएको थियो ।
    नेपालको दांग जिल्लाबाट आफना सन्तान भेट्न आउनु भएका महेश गौतमले खुशी हुदै भन्नुभयो । उहाँले नेपाली कला संस्कृति तथा धार्मिक संस्कार झल्किने खालका कार्यक्रमहरु आयोजना गर्न समेत सुझाव दिनुभएको थियो ।

    नेपाली बीचको एकता जहाँ भएपनि उस्तै राख्न तथा नेपाली भाषा र साहित्यको  जगेर्ना गर्न यस्ता कार्यक्रम लाभदायी रहको  बताउँदै तनहँका  पष्पराज पौडेलले नेपाली अभिभावक बीचको जमघटले यहाँको कला संस्कृति सिक्न प्रेरित गर्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।
    उहाँले  विश्व भरि छरिएर रहेका नेपाली भाषी बालबालिकाकाहरुका लागि भाषा संस्कृतिमा एकरुपता ल्याउन भाषा पाठ्यक्रम जरुरी रहेको औल्याउदै यसका लागि विभिन्न संस्थाहरुबाट पहल भइरहेको र यसका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
    अभिभावकहरुको उत्साहजनक उपश्थितीले आगामी दिनहरुमा अझ प्रभावकारी कार्यक्रम गर्न हौसला मिलेको बताउदै कार्यक्रम संयोजक श्रीकान्त अर्यालले सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष धुब्र राईको संयोजकत्वमा  सचिव दिनेश अधिकारीले सञ्चालन गर्नु भएको थियो ।