प्रकाश क्षेत्री – क्यानाडाखवर क्यालगरी व्युरो ।
क्यालगरिका नेपालीहरु व्यवसाय प्रति आकर्षित हुन थालेका छन । रोजगारीलाई नै पहिलो प्राथमिकतामा पार्दै आएका यहाँ स्थित नेपालीहरुले धमाधम व्यवसायमा लगानी गर्न थाले संगै नेपालीहरुको पहिचान पनि फेरिन थालेको छ । यहाँ फास्टफुड तथा रेष्टरेन्ट, चाइल्ड केयर प्रोभाइडर, रियल्टर, इन्स्युरेन्स अभिकर्ता, होम इन्सपेक्सन, इमिग्रेसन कन्सल्टेन्सी, होम रिनोभेसन लगायतका क्षेत्रमा नेपालीहरुको लगानी बढ्दै गइरहेको छ ।
नेपालीहरुको लगानीमा यहाँ सञ्चालित अम्विका होम इन्स्पेक्सन, जुन इमिग्रेसन सर्भिसेस, हिमालयन रेष्टुरेन्ट ग्रिनचिल्ली साउथइस्ट, माउण्ट एभरेष्ट नेपाली रेष्टुरेन्ट, पाथवेज बर्गर एण्ड मम, हिमालयन टेष्ट, ग्रिनचिल्ली साउथवेस्ट लगायत दर्जन भन्दा बढीले आफ्ना सेवा दिईरहेका छन । त्यस्तै इन्स्युरेन्स, चाइल्डकेयर, रियल्टर व्यवसायीको रुपमा पनि सेवा दिइरहेका छन ।

अम्विका होम इन्सपेक्सनका संचालक धन गिरीका अनुसार नेपाली लगानीमा संञ्चालित व्यवसायहरु संख्यात्मक रुपमा मात्र बृद्धि नभई मार्केटमा क्वालिटी सेवा दिन पनि सक्षम रहेका छन । उनी क्यानेडियन एशोसियन अफ होम एण्ड प्रोपर्टी इन्स्पेक्टर (क्याथी) क्यालगरीको सर्टिफाइड सदस्य भएकाले क्वालिटी नै आफनो पहिलो प्राथमिकता रहेको दावी गर्छन ।
त्यसो त क्यालगरिमा फास्टफुड तथा रेष्टरेन्ट व्यवसायमा लगानी गर्नेको संख्या सबैभन्दा बढी छ । नेपालीहरुले लगानी गरेका इन्डियन तथा नेपाली परिकार पाइने आधा दर्जन भन्दा बढी रेष्टुरेन्टहरु छन नेपाली लगानीमा सञ्चालित हिमालयन रेष्टुरेन्ट साउथवेस्ट, ग्रिनचिल्ली साउथवेस्ट, ग्रिनचिल्ली साउथइस्टले केही बर्षदेखि आफना सेवाहरु प्रदान गर्दै आइरहेका थिए । माउन्ट एभरेष्ट नेपाली रेष्टुरेन्ट, पाथवे बर्गर एण्ड मम हुदै हिमालयन टेस्ट लगायतले पनि आफना सेवाहरु दिन थालिसकेका छन । केही सर्भिस दिने प्रक्रियामा रहेका छन ।

माउण्ट एभरेष्ट नेपाली रेष्टुरेण्टका संचालक बिष्णु बस्यालका अनुसार यहाँका अधिकाँस नेपाली रेष्टुरेष्टहरु साझेदारी लगानी अन्तर्गत संचालित छन । उनी साझेदारी प्रक्रियाबाट लगानीका लागि मात्र होइन २– ३ जनाको क्षमता एकिकृत गर्नाले व्यवस्थापन गर्न समेत सजिलो हुने बताउँछन । सोही रेष्टुरेन्टका अर्का संचालक मोहन आचार्यले “एक पटक नेपाल गइसकेकोहरु नेपाली नाम सुनेकै भरमा आफना आफन्त साथीभाईहरु लिएर हाम्रो परिकारको स्वाद लिन आउने गरेका छन । यस्तो हुँदा निकै गर्व लाग्दो रहेछ ।”

यसरी नेपालीहरुको लगानीमा संचालित अधिकाँस रेष्टुरेण्टहरुले इन्डियन तथा नेपाली स्वादका परिकारहरुको सर्भिस गर्ने गरेका छन । नेपाली स्वादका परिकारहरुको अर्डर गर्ने ७० देखि ८० प्रतिशत ग्राहक भने नेपालीइतरका हुने गरेको साउथइस्टमा सञ्चालित ग्रिनचिल्ली रेष्टुरेन्टका संचालक छवि अर्याल बताउँछन । रेष्टुरेन्ट क्षेत्रमा दक्षता भएका नेपालीहरुको संख्या बढी भएको र लगानी पनि अरु व्यवसायको तुलनामा कम लाग्ने हुनाले यस क्षेत्रमा नेपालीहरु बढी आकर्षित भएको उनको अनुमान छ ।
क्यालगरिका सबै भन्दा बढी नेपालीहरुको बस्ती रहेको नर्थइस्टमा संचालित पाथवे बर्गर एण्ड ममका संचालक नारायण दाहालले पछिल्लो समय अन्तराष्द्रिय बजारमा नेपाली स्वादका परिकारहरु लोकप्रिय बन्दै गइरहेको बताउँछन ।
