CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • इनडोर सकरको उपाधि क्यालगरीलाई

    प्रकाश क्षेत्री- जुलाई ३, क्यानाडाखवर.कम क्यालगरी व्युरो
    वेस्टर्न क्यानाडा रिजनल नेपालीज स्पोर्ट एण्ड कल्चरल इभण्ट अन्तर्गत इनडोर सकरको उपाधि क्यालगरीले हात पारेको छ । क्यानाडाको रेजिना शहर स्थित युनिभर्सिटी अफ रेजिनाको प्रांगणमा हिजो भएको खेलमा एक गोलको अन्तरले साच्काचुनलाइ हराउँदै उक्त उपाधि क्यालगरीले चुम्न सफल भएको थियो ।
    पश्चिम क्यानाडाका क्यालगरी, एडमन्टन, रेजिना, विनिपेग, साच्काचुन, प्रिन्स अलबर्टा, लेथव्रिज, र भ्यानकुभर गरि आठ सिटीबाट छ खेलका लागि झण्डै दुई सय चालिस नेपाली खेलाडी तथा कलाकारहरुले प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको पहिलो दिन भएको कम्पिटेटिभ कल्चरल शो अन्तर्गतको सांस्कृतिक कार्यक्रम (गायन, नृत्य र बाद्यबादनको उपाधि रेजिनाले हात पारेको थियो ।
    छ खेलका लागि भएका विभिन्न प्रतियोगिता मध्ये आउटडोर सकर र डण्डिवियोमा विनिपेगले जित हासिल गरेको थियो । भलिवल (विजेता), डण्डिवियो (उपविजेता) र टेवल टेनिस पुरुष (विजेता) को उपाधि भने एडमण्टनले जितेको थियो ।

    यसै गरि पुरुष तर्फको ब्याडमिन्टन (विजेता) महिला ब्याडमिन्टन (उपविजेता), आउटडोर सकर (उपविजेता)र महिला डवल ब्याडमिन्टन (विजेता) को उपाधि लेथव्रिजले हात पारेका थियो भने पुरुष एकल टेवलटेनिस (विजेता), पुरुष डवल टेवलटेनिस (उपविजेता) व्याडमिन्टन पुरुष (उपविजेता), ब्याडमिन्टन महिला (विजेता) को उपाधि रेजिनाले चुम्न सफल भएको थियो ।
    त्यस्तै हिजो भएको भलिवल (उपविजेता) , इनडोर सकर (उपविजेता) को उपाधि भने साच्काचुनले जित्न सफल भयो । त्यस्तै महिला सिंगल टेवल टेनिसको विजेताको उपाधि भ्यानकुभरले हात पारेको थियो ।
    सिटी अफ रेजिनाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा एन आर एन क्यानाडाले अडिसन च्वाइस अवार्डको स्पोन्सर गरेको र कार्यक्रमा नेपाली तथा गैह्र नेपाली गरि करीव चार सय जनाको संलग्नता रहेको रेजिनाबाट (स्टेरिङ्ग कमिटीका कार्यक्रम संयोजक) डा. पुण्य सागर मरहट्टाले क्यानाडाखवरलाई जानकारी दिएका छन ।