
क्यानाडाखवर.कम, क्यालरी व्युरो ।
क्यालगरीको साउथवेस्ट स्थित नेपाली विद्यालयको १० औं बार्षिकोत्सव तथा अभिभावक भेला हिजो क्यालगरीको इडवर्दि पार्कमा सम्पन्न भएको छ ।
क्यालगरी नेपालीज कम्युनिटी एशोशियसनले विद्यालयमा १० बर्ष लामो स्वमसेवक को भुमिका निर्वाह गर्नु भएका ७ जना संस्थापक सदस्यहरुलाई मायाको चिनो सहित सम्मान गरेको थियो ।

सम्मानित हुनेहरु प्रिन्सिपल निशा धौभडेल, सविता बस्नेत, रत्ना तुलाधर, ज्योत्सना प्याकुरेल, नोदना मगर, प्रतिभा उप्रेती, अन्जु थान्जु र मञ्जु दाहालले संयुक्त रुपमा खुशी व्यक्त गर्दै विद्यालय सञ्चालकको प्रशंशा गरेका थिए ।
कार्यक्रममा बोल्दै सम्मानित निशा धौभडेलले लामो समय नेपाली भाषा,कला, संस्कृति संरक्षण तथा प्रवद्र्धन का लागि स्वयम सेवकका रुपमा योगदान गर्न पाएकोमा आफुलाई गर्व लागेको बताइन ।

डाउनटाउन स्थित वेस्टर्न क्यानाडा हाई स्कुलमा नेपाली भाषाको ३ तहको अध्यापन हुने गरेको छ । विद्यालयमा ५ बर्ष देखि १८ बर्ष उमेर सम्मका करीव ३५ जना विद्यार्थीले नेपाली भाषा, कला र संस्कृति बारे अध्ययन गरिरहेका छन । उक्त विद्यालय हरेक साताको आइतवार स्थानिय समय अनुसार २.३० बजे देखि ४.३० बजे सम्म सञ्चालन हुने गरेको क्यालगरी नेपालीज कम्युनिटी एशोशियसनका अध्यक्ष हरिवोल शर्माले जानकारी दिएका थिए ।

त्यस्तै संस्थाका उपाध्यक्ष दिनेश घिमिरेले विद्यालयका स्वयम सेवकहरुको पहलमा अनुभवमा आधारित पाठ्यक्रम तथा पाठ्यसामाग्रीहरु निर्माण गरी नेपाली भाषा संस्कृतिको अध्यापन गराइने गरेको बताए ।
कार्यक्रम क्यालगरी नेपालीज कम्युनिटी एशोशियसनको समर पिकनिकको अवसर पारि क्यालगरीको इडवर्दि पार्कमा सम्पन्न भएको थियो ।

संस्थाका सचिव गिरिष रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कुर्ची दौड, लुठो तान्ने खेल, विङ्गो लगायतका प्रतियोगिता गरिएको थियो । खेलमा विजयीहरुलाई माउण्ट एभरेष्ट रेष्टुरेन्टले पुरस्कारको व्यवस्था गरेको थियो ।